१८ वर्ष पुगेका विद्यार्थीलाई आजदेखि कोरोना खोप लगाइने 

१८ वर्ष पुगेका विद्यार्थीलाई आजदेखि कोरोना खोप लगाइने 
फाइल तस्बिर

काठमाडौं : सरकारले काठमाडौँमा आजदेखि १८ वर्ष उमेर पुरा भएका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ।

१८ वर्षभन्दा माथिका कक्षा ११ र १२ मा अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ। 

यस्तै ४० वर्षमाथिका व्यक्तिलाई पनि आजदेखि खोप लगाइने भएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएका खोप केन्द्रमा खोप लगाउन पाइनेछ। 

सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी र नेपाल प्रहरी अस्पताल महाराजगन्जमा बिहान १० बजेदेखि खोप लगाउन सुरु हुने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ।

यस्तै वीर अस्पताल रत्नपार्क, निजामती कर्मचारी अस्पताल नयाँवानेश्वर, प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथली, शिक्षण अस्पताल महाराजगन्जमा कोरोना विरुद्धको खोप लगाइनेछ।

काठमाडौं महानगरपालिकाका ३२ वटा वडा र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्रमा पनि खोप लगाइनेछ। काठमाडौँका अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्रमा खोप लगाउन पाइनेछ।

भदौ ४, २०७८ शुक्रबार ०८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।