औपचारिक रूपमै फुटे एमाले र जसपा
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षीय नेता कार्यकर्तासहित बुधवार दिउँसो निर्वाचन आयोगमा गएर नयाँ दल दर्ताको निवेदन दिएर औपचारिक रूपमा एमाले फुटेको हो।
नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले समाजवादी र पार्टीको चुनाव चिन्ह किताब राख्ने गरी निर्वाचन आयोगमा दल दर्ता प्रस्ताव गरिएको एमालेका एक नेताले बताए। ती नेताका अनुसार माधवकुमार नेपाल संयोजक रहने गरी हाल ९५ जना को केन्द्रीय समिति प्रस्ताव गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी ऐन संशोधनका लागि सरकारले सिफारिस गरेको अध्यादेश प्रमाणीकरण गरेको केही घण्टामै नेपाल टोली आयोग पुगेका थिए।
त्यसै गरी विभाजनको सङ्घारमा रहेको जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पक्षले पनि बुधवार नै आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।
ठाकुर पक्षले जनता समाजवादी लोकतान्त्रिक पार्टीको नाम र साइकल चुनाव चिन्ह रहने गरी आयोगमा प्रस्ताव गरेको छ। पार्टीमा ठाकुर अध्यक्ष रहने गरी २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने उल्लेख गरेका छन्।
भदौ २, २०७८ बुधबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।