राज्यको सुविधा नलिने पदमुक्त प्रदेश प्रमुख झाको घोषणा

राज्यको सुविधा नलिने पदमुक्त प्रदेश प्रमुख झाको घोषणा

काठमाडौँ : २ नम्बर प्रदेशको प्रमुखबाट पदमुक्त भएका डा. राजेश झा अहिराजले पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा गरेका छन्।

उनले पदमुक्त भएकाले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने पनि घोषणा गरेका छन्। 

उनी २०७७ फागुन ७ गते प्रदेश नम्बर २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भएका थिए। अहिराजले विज्ञप्ति निकालेर अभाव, अपराध र अतिवादको चपेटामा पर्दै गएको प्रदेश २ मा आम नागरिकहरूलाई सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन विशेष पहलकदमीको खाँचो रहेको औँल्याएका छन्। 

उनले विभेदको विरुद्धमा लड्नेहरूले विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय भएको उल्लेख गरेका छन्।  निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि अविश्वास गर्नुपर्ने कुनै पनि कारण नरहेकोले आफूले निजी सचिवालय नराखेको विज्ञप्तिमा लेखेका छन्। 

निजामतीको विकल्पमा वा निजामतीलाई मानमर्दन गर्ने गरी गठन गरिने निजी सचिवालय सैद्धान्तिक रूपमा राज्यकै दोहन भएको उनले उल्लेख गरेका छन्। प्रदेश नम्बर २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भएका हरिशंकर मिश्रको पूर्ण कार्यकालको सफलताका लागि शुभकामनासमेत पनि दिएका छन्।

भदौ १, २०७८ मंगलबार १३:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।