शुल्क छुटको माग राख्दै इन्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलनमा
अनलाइन बाट पढाइ हुँदा पनि क्याम्पसले बिजुली, इन्टरनेट लगायतका विद्यार्थीले उपभोग नगरेका सुविधाको शुल्क उठाएको भन्दै इन्जिनियरिङ कलेजका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।
क्याम्पस प्रशासनमा तालाबन्दी गरेर नेशनल इन्जिनियरिङ कलेजका विद्यार्थी साउन २२ गते देखि आन्दोलनमा उत्रेका हुन्। नेशनल इन्जिनियरिङ कलेजको सातौँ सेमेस्टरमा अध्ययनरत विनायक पन्तका अनुसार आफूहरूले उपभोग नै नगरेको सुविधाको शुल्क तिर्नु परेकाले आन्दोलनमा उत्रनुपरेको हो।
विद्यार्थीहरूले पैसा तिर्नु परेको, कलेजलाई उपभोग नगरेका सुविधा बापतको शुल्क कटाएर लिन आग्रह गर्दा कलेज प्रशासन र डिन कार्यालयले वास्ता नगरेको विद्यार्थीको गुनासो छ।
‘डेढ वर्ष देखि कलेज बन्द छ, हामीले अनलाइन मार्फत पढेका छौँ, शुल्क भने जम्मा १०÷१२ प्रतिशत मात्रै छुट दिएर उपभोग नगरेका सुविधाको पनि जोडिएको छ’, पन्तले भने, ‘हामीले उपभोग नगरेको सेवाको शुल्क दिंदैनौं भन्दा कलेज प्रशासनले कुनै वास्ता नगरेकाले हामी आन्दोलनमा छौं’ केही कलेजका विद्यार्थीहरू रिले अनशनमा बसेको उनले जानकारी दिए।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १० वटा इन्जिनियरिङ कलेजका विद्यार्थी शुल्क घटाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन्। नेशनल कलेज अफ इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ कलेज, सगरमाथा इन्जिनियरिङ कलेज, एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, क्याथफोर्ड इन्जिनियरिङ कलेज, काठमान्डु इन्जिनियरिङ कलेज, कान्तिपुर इन्जिनियरिङ कलेज र जनकपुर इन्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलनमा छन्।
भक्तपुरमा सञ्चालित ख्वपः कलेज सामुदायिक कलेज भएकाले त्यहाँ भने सामान्य मात्र विरोध भएको विद्यार्थी बताउँछन्। हिमालयन कलेजका विद्यार्थी शुल्क छुटको माग राख्दै रिले अनसनमा बसेका छन्।
नेशनल कलेजका प्रमुख कार्यकारी अधिकृत धनिराम पौडेल कलेजले आवश्यक भन्दा बढी शुल्क नउठाएको दाबी गर्छन्। ‘विद्यार्थीले धेरै छुट मागिरहेका छन्, अधिकांश विद्यार्थीले पुस्तकालय प्रयोग गरेका छन्, इन्जिनियरिङको पढाइ प्रयोगात्मक गर्नै पर्छ’,उनले भने ‘१२ प्रतिशत छुट दिँदा पनि विद्यार्थीले आन्दोलन गरिरहेका छन्, हामीले उनीहरू सँग दुई पटक वार्ता गरेका छौँ।’
विद्यार्थी भने कलेज प्रशासनसँगे दुई पटक सम्म वार्ता गरे पनि केही उपलब्धि नभएकाले आन्दोलन नरोकिएको बताउँछन्। शुल्कमा कुनै छुट नदिएको र निजी कलेज एसोसिएसनले शुल्कको सही खाका तयार नगरेको विद्यार्थीको गुनासो छ। डिन कार्यालयले समेत बेवास्ता गरेको विद्यार्थीको भनाइ छ।
उता त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशी विद्यार्थीले उठाएका मागको सम्बन्धमा क्याम्पसका प्रमुखलाई बोलाएर छलफल गरेको बताउँछन्। ‘हामीले विद्यार्थीको के के माग हुन् भनेर प्रिन्सिपलहरू सँग बोलाएर छलफल गरेका छौँ’, जोशीले भने, ‘सहमतिमा नै यो विषय कलेजहरूले सल्टाउँछन् भन्ने हामीले विश्वास लिएका छौँ।’
विद्यार्थीले २५ देखि ३५ प्रतिशत छुट हुनुपर्ने माग गरिरहेका छन् भने कलेजले १० देखि १२ प्रतिशत मात्रै छुट दिएका छन्।
भदौ १, २०७८ मंगलबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।