आफूले खनेको खाल्डोमा आफैं पर्ने डरमा ओली
काठमाडौँ : सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनको अध्यादेश ल्याउन लागेको चर्चासँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूले खनेको खाल्डोमा आफैँ परिने डरले अत्तालिन थालेका छन्।
सरकारले संसद्को चालु अधिवेशन अन्त्य गरेपछि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर माधव नेपाल समूहलाई पार्टी फुटाउन सहज पार्न लागेको आशङ्काले ओली डराउन थालेका हुन्।
सरकारले संसद्को चालु अधिवेशन अन्त्य भएको घोषणा गरे लगत्तै स्थायी कमिटी बैठक राखेका ओलीले मध्यरातमा विज्ञप्ति निकालेर पार्टी विभाजन क्षम्य नहुने बताए। उनले सरकारले राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गरेको अनुमान गर्दै त्यस्तो अध्यादेश स्वीकार्य नहुने अभिव्यक्ति दिएका छन्।
राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन सहज बनाइयो भने पहिलो पटक फुट्ने पार्टी नै एमाले हुने ओलीको बुझाइ छ। एमाले फुटाउनकै लागि अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गरिएको ओली पक्षीय एमाले नेता शेरबहादुर तामाङले बताए।
ओलीले आफू प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेशको बचाउ गर्दै तामाङले त्यति बेला कुनै पार्टी फुटाउने भन्ने निश्चित उद्देश्य नभएको दाबी गरे। अहिले आफ्नो पार्टी फुटाउनै अध्यादेश ल्याउन लागिएकाले विरोध गर्नु परेको तामाङको भनाइ थियो।
‘हिजो केपी ओलीले अपनाएको शैलीको विरोध गर्ने शेरबहादुर देउवा आफैँ संसदीय सर्वोच्चताको खिलाफमा हिँड्न थालेका छन्’, तामाङले भने, ‘जबरजस्ती अध्यादेश ल्याए एमाले चुप लागेर बस्दैन, कसरी प्रतिकार गर्ने भन्ने योजना बनाउन लागेका छौँ।’
यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ वैशाख ८ गते राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका थिए। राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३३(२) मा संसदीय दल र केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको समर्थनमा मात्र पार्टी फुटाउन पाउने प्रावधानलाई ओली सरकारले केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पार्टी फुटाउन पाउने गरी ऐन संशोधनको अध्यादेश ल्याएको थियो।
मधेसी दललाई विभाजन गर्न सहज बनाउने गरी ओली सरकारले ल्याएको अध्यादेशको वर्तमान सरकारमा सहभागी गठबन्धन र नागरिक समाजबाट विरोध आएकाले अध्यादेश फिर्ता लिइएको थियो।
पछिल्लो समय ओली सरकारकै पालामा ल्याइएको प्रावधान राखेर वा अझ त्योभन्दा सहज रूपमा पार्टी फुटाउन मिल्ने गरी ऐन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको चर्चा चलेको छ।
विशेष गरी एमालेका माधव नेपाल समूहमा भएको सङ्ख्यालाई आधार बनाएर राजनीतिक दल फुटाउने प्रावधान राखेर अध्यादेश ल्याउन लागिएको चर्चापछि ओली अत्तालिएका हुन्। संसद् अधिवेशन लगत्तै अहिले एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ।
संसदीय पद्धतिमाथि आक्रमण गरेको नारा दिएर स्थापित भएको सरकारले खुसुक्क संसद्को अधिवेशन अन्त्य गर्नु राम्रो सङ्केत नभएको एमालेका ओली पक्षीय नेताले बताएका छन्। लोकतान्त्रिक भनिएको सरकारले खुसुक्क अधिवेशन अन्त्य गर्नुले शङ्का उब्जाएको पूर्व सभामुख समेत रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङले बताए।
ओली सरकारका पालामा अध्यादेश आउँदा एक शब्द नबोल्ने एमाले नेताहरू अहिले आफ्नै पार्टी फुट्ने डरले अध्यादेश ल्याउनु गलत हुने बताइरहेका छन्। ओलीको विज्ञप्तिमा नेकपा एमाले फुटाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउनु क्षम्य नहुने उल्लेख छ। अहिले एमाले फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए त्यसले कांग्रेसलाई पनि बाँकी नराख्ने एमाले नेताहरूले चेतावनी दिएका छन्।
माधव नेपाल निकट एमाले नेता अरुण नेपालले हठात् रूपमा संसद्को अधिवेशन अन्त्य गरी अध्यादेश ल्याएर संसद्को भूमिका कमजोर गराउनु गलत भएको टिप्पणी गरे। ‘पार्टी अध्यक्षले एमाले फुट्छ भन्ने हिसाबले मात्र गलत भन्नु भएको होला, उहाँको कुरा उहाँ नै जान्नुहुन्छ’, नेपालले भने, ‘राजनीतिक दल लोकतन्त्रका मेरुदण्ड हुन्, यसलाई कमजोर बनाउने कानुन आउनुहुन्न।’
हिजो ओलीले अध्यादेश ल्याउनु जसरी गलत थियो आज पनि त्यो गलत नै हुने भएकाले त्यसको पक्षमा उभिन नसक्ने नेपालले बताए।
भदौ १, २०७८ मंगलबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।