अफगानिस्तानमा रहेका १२७ नेपालीलाई काठमाडौँ ल्याइयो  

अफगानिस्तानमा रहेका १२७ नेपालीलाई काठमाडौँ ल्याइयो  

काठमाडौँ : अफगानिस्तानमा रहेका १२७ जना नेपाली नागरिकलाई काठमाडौँ ल्याइएको छ।

आइतबार काबुलबाट कुवेत आएर बसेका नेपाली नागरिक जजिरा एयरको विमानमार्फत काठमाडौँ आइपुगेका हुन्। काठमाडौँ आएका मध्ये १२६ जना पुरुष र १ जना महिला छन्। 

उनीहरूलाई सामाखुसीमा रहेको राधा स्वामी सत्सङ्ग आइसोलेसन केन्द्रमा ल्याएर राखिने नेपाली सेनाले जनाएको छ। तेस्रो देशबाट आउने नेपाली नागरिकलाई आइसोलेसन सेन्टरमा राख्ने जिम्मेवारी पाएको नेपाली सेनाको टोली उनीहरूलाई लिन विमानस्थलमा पुगेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए।

पौडेलका अनुसार आइसोलेसनमा ल्याएपछि उनीहरूको कोरोना परीक्षण हुनेछ। ‘लकडाउन सुरु भएपछि नै तेस्रो देशबाट आएका नेपाली नागरिकलाई होल्डिङ सेन्टर पुर्याउने जिम्मा सेनाले पाएको हो,’पौडेलले उकेरासँग भने,‘त्यही जिम्मेवारी अनुसार अफगानिस्तानबाट फर्केका १२७ जनालाई लिन सेनाको टोली विमानस्थलमा पुगेको छ।’

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गरेर स्वदेश फर्काउने प्रक्रिया सुरु भएको जनाएको छ। अफगानिस्तानमा अमेरिका, बेलायत, युएन, जापान, क्यानडा, जर्मनी दूतावासमा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु भएको प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। 

अफगानिस्तानका विभिन्न दूतावासमा कार्यरत १५ सय नेपाली नागरिकलाई फिर्ता ल्याउने प्रक्रिया सुरु भएको उनले बताइन। ‘नेपाल सरकारको रेकर्डमा १५ सय नेपाली अफगानिस्तानमा छन्,’प्रवक्ता लम्सालले उकेरासँग भनिन्,‘आफूखुसी अफगानिस्तान पुगेकाहरूको तथ्याङ्क सङ्कलनको काम भइरहेको छ।’

आफूखुसी गएकाहरूको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको भन्दै उनले अफगानिस्तानमा विमान पठाएर अलपत्र परेका नेपालीलाई ल्याउने बताइन्।

भदौ १, २०७८ मंगलबार ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।