भूतपूर्व गोर्खा आन्दोलन : ब्रिटिस प्रधानमन्त्री जोन्सनलाई ज्ञापन पत्र

भूतपूर्व गोर्खा आन्दोलन : ब्रिटिस प्रधानमन्त्री जोन्सनलाई ज्ञापन पत्र

लन्डन : गैर आवासीय नेपाली सङ्घ, युकेले भूतपूर्व गोर्खा सैनिकहरूले उठाएको समान पेन्सन, सुविधा लगायतका माग तत्काल सम्बोधन गर्न ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनको ध्यानाकर्षण गराएको छ।

एनआरएन एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरले आन्दोलनरत गोर्खा सैनिकहरूको माग सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री जोन्सनलाई ज्ञापन पत्र पठाएका छन्।

लन्डनस्थित स्थानीय हुलाकमार्फत पठाएको ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय पुगिसकेको गैर आवासीय नेपाली सङ्घ युकेले जनाएको छ। 

गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको आह्वानमा दश दिनदेखि सेन्ट्रल लन्डनस्थित ब्रिटिस प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन जारी छ। अनसनमा दुई भूतपूर्व गोर्खा सैनिक र एक भूतपूर्व सैनिककी श्रीमती गरी तीन जना सहभागी छन्। 

आमरण अनसन चलिरहँदा पनि ब्रिटिस सरकारले मागको सुनुवाइ नगरेपछि एनआरएनए युकेले ब्रिटिस सरकारको ध्यानाकर्षण गराएको जनाएको छ। 

अध्यक्ष गाहा मगरले ब्रिटिस प्रधानमन्त्री जोन्सनलाई लेखेको पत्रमा ‘सन् २०१८ मै गठित प्राविधिक समितिले बुझाएको १३ बुँदे प्रतिवेदन कार्यान्वयन गर्न र ब्रिटिस गोर्खा सैनिकहरूको योगदानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ।

भदौ १, २०७८ मंगलबार १०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।