मेलम्चीको एक झड्काले रोडमा पुर्यायो
सिन्धुपाल्चोक : बेशीमा सडक बिस्तार भएसँगै गाउँको जग्गा बेचबिखन गरेर १८ वर्षअघि किउलको गणेशे बगर झरेका धनबहादुर तामाङ मेलम्ची खोलामा आएको बाढीले सुकुम्वासी भएका छन्।
सडक पुगेको ठाउँमा सुविधा उपभोग गर्न पाउने आशामा हेलम्बु गाउँपालिका–२, ढोडेनीबाट बेशी झरेका धनबहादुरको गत असार १ गते आएको बाढीले घर खेत सबै बगाएपछि सुकुम्वासी सरह भएका हुन्।
बाढीले घर र नजिकै रहेको साँढे चार रोपनी खेत सबै बगाएको धनबहादुर बताउँछन्। छिमेकीसँगै टेन्ट हालेर बसेका धनबहादुरको घर खेत मात्र होइन छोरा छोरीलाई राम्रो पढाउने सपना समेत बाढीले बगाएको छ।
धनबहादुरका छिमेकी कामी तामाङको पनि बाढीले घरसँगै गरिखाने १५ रोपनी खेत बगाएको छ। ‘अहिले तत्काल त दाताले दिएको राहतबाट पेट पालिएला,’ कामी भन्छन्,‘दाताले दिन छाडेपछि जहान बच्चा लिएर कहाँ जाने?’ आफू बाँचे पनि गरिखाने ठाउँ नभएपछि रात भर निदाउन नसक्ने उनी बताउँछन्।
चनौटे बजारमा भूकम्पपछि बनेको पक्की घर बगाएपछि अन्य छिमेकीसँगै टेन्टमा बसिरहेकी लरिमाया तामाङलाई एक महिना अघि बितेकी बुहारीको घेवा (काज किरिया) गर्न नपाएको दुखेसो छ।
असार पहिलो हप्ता बुहारीको घेवा गर्ने योजना बनाएकी लरिमाया १ गतेको बाढीपछि घरबार विहीन अवस्थामा पुगेकी छिन्। जीवन भरी कमाएको सम्पत्ति बाढीले लगेपछि उनका श्रीमान् साङ्बो लामाको मन थिरमा छैन।
यसै वर्ष मात्र निर्माण सकेर बस्न थालेको दुई ढलानको घर बाढीले बगाएपछि साङ्बो दिनभर मन बहलाउन गाउँ डुल्ने गरेको लरिमायाले बताइन्। ‘घरमा भएको केही निकाल्न पाइएन,’ लरिमाया भन्छिन्, ‘अब बाँकी जीवन कसरी बिताउने हो?’
खेत बारी र घरसँगै ६० लाख रुपैयाँ भन्दा बढी लगानी गरेर सुरु गरेको ट्राउट माछा फार्म बाढीमा परेपछि दमै तामाङ आफूलाई सुकुम्वासी भएको बताउँछन्। ऋण लिएर सुरु गरेको व्यवसाय बाढीले बगाएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ताले उनलाई सताउन थालेको छ।
हेलम्बु–१, हल्देका ग्याल्जेन लामाले भूकम्पले भत्काएको घर पुनर्निर्माण सकेर अनुदानको अन्तिम किस्ता लिनै पाएका थिएनन्। अन्तिम किस्ता नलिँदै उनको घर बाढीमा परेको छ।
घरमा बाढी पस्न थालेपछि मुस्किलले बाढीको लेदोसँगै हुत्तिएर बाँचेका उनी घर लगे पनि आफू बाँचेकोमा केही आशावादी छन्। 'तत्काललाई सुकुम्वासी भइयो,' ग्याल्जेनले भने, 'बाँचिएको छ केही गर्न सकिएला नि।'
गत असार १ गते र साउन १६ गते मेलम्ची नदिमा आएको लेदो सहितको बाढीले हेलम्बुमा मात्र २० जना बेपत्ता बनाएको छ। बाढीले हेलम्बुका तीन सय भन्दा बढी घर पूर्ण रूपमा क्षति भएका छन्।
सयौँ रोपनी खेती योग्य जमिन, नौ वटा ट्राउट फार्म र अन्य व्यवसाय समेत बाढीले बगाउँदा करोडौँ रुपैयाँको क्षति भएको गाउँपालिकाले जनाएको छ। बाढीले पुल बगाएपछि मेलम्ची घ्याङ लगायतका गाउँ सडक र पैदल सम्पर्कबाट वञ्चित भएका छन्।
साउन ३०, २०७८ शनिबार १२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।