पार्टी कार्यालयमा बैठक नबसेकोमा डा. शेखरको आपत्ति
काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी कार्यालयमा बस्ने अवस्था नभएर सभापति निवासमा बैठक बस्नु परेकोमा आपत्ति जनाएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै डा. कोइरालाले पार्टी कार्यालयमा बस्न नसकेर सभापति निवासमा बैठक बस्नु परेकोमा चिन्ता व्यक्त गरेका हुन्।
पार्टी कार्यालयमा धर्नामा बसेका कार्यकर्ताको आवाज नेतृत्वले सुन्न नसक्दा पार्टी कार्यालयमा बैठक बस्न नसकेको उनको टिप्पणी थियो। धर्ना बसेका कार्यकर्ताको माग सम्बोधन गरेर पार्टी कार्यालयमै बैठक बस्ने वातावरण सिर्जन गर्न उनले नेतृत्वलाई आग्रह गरे।
कोइरालाले पदाधिकारी र पूर्व पदाधिकारीले महाधिवेशनको कार्यतालिका टुङ्गो लगाउन नसकेकोमा आक्रोश व्यक्त गरे। नेतृत्व तहमा इच्छा शक्ति नदेखिएका कारण महाधिवेशनको टुङ्गो लगाउन नसकेको कोइरालाको भनाई थियो।
प्रधानमन्त्रीले ७५ प्रतिशत समय पार्टीको काममा खर्च गर्नु परेकाले सरकार सञ्चालन प्रभावकारी हुन नसकेको कोइरालाले धारणा राखे।
‘प्रधानमन्त्रीजी ले १००% समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५% समय पार्टीको काममा खर्च भएको छ। यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?’, कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई प्रश्न गरे, ‘२ महिनादेखि १५ मन्त्रालय नेतृत्व विहीन छन्। यसले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ?’
तल्लो तहबाट, विधान र प्रक्रियागत ढङ्गले आएका छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरीत थपिएका क्रियाशील सदस्यता र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्याइ वितरण गरिएका सदस्यताले जटिलता उत्पन्न गरेको डा. कोइरालाले बताए।
‘नेतृत्व र क्रियाशील छानबिन समितिले क्रियाशीलमा धेरै समस्या छैन भनेर भनिसकेकोले यसमा अल्झिन आवश्यक छैन’,कोइरालाले भने, ‘जुन–जुन स्थानमा समस्या छ त्यहाँ १३ औँ महाअधिवेशनका क्रियाशीललाई आधार मानेर अधिवेशनमा जाऔँ।’
नेतृत्व तहमा चर्चामा रहेको विशेष महाधिवेशन र म्याद थप्ने कुरा मान्य नहुने बताउँदै डा. कोइरालाले विधान र संविधानले दिएको समय सकिई सकेकाले छिटै क्रियाशील सदस्यतामा देखिएको समस्या समाधान गरेर डेढ दुई महिना भित्रै पार्टीको महाधिवेशन गर्नुको विकल्प नभएको बताएका थिए।
साउन २९, २०७८ शुक्रबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।