मेलम्ची अध्ययनको निष्कर्ष : बाढीको कारण अधिक वर्षा र पहिरो
काठमाडौ : अधिक वर्षा र माथिल्लो क्षेत्रमा गएको पहिरोको कारण गत असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा अत्यधिक क्षति हुने गरी बाढि आएको खानी तथा भूगर्भ विभागले जनाएको छ।
बाढीपछि अध्ययनमा गएको विभागको टोलीले हिमाली क्षेत्रमा परेको वर्षाका कारण पहिरो जाँदा भएको कटानले बगाएको लेदोका कारण मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्याएको जनाएको हो।
विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जियोलोजिष्ट गौतमप्रसाद खनालको टोलीले पहिरोग्रस्त क्षेत्रमा पुगेर गरेको भौगर्भिक अध्ययनका आधारमा विभागले उक्त निश्कर्ष निकालेको हो ।
असार १ गते र १६ गते मेलम्ची नदिमा आएको बाढिका कारण हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न क्षेत्रमा बस्ती र पुलहरु बगाएपछि बाढीको कारण पत्ता लगाउन स्थानीयले सरकारसँग आग्रह गरेका थिए। स्थानीयको आग्रहपछि विभागका जियोलोजिष्ट बास्कोटा र खनालले साउन २२ देखि २५ गतेसम्म मेलम्ची खोलाको मुहान क्षेत्रको भौगर्भिक अध्ययन गरेका थिए।
अध्ययनका क्रममा भेमाथाङ चौरमा थुप्रिएको गेग्रान पेमादाङ खोलामा आएको बाढिले बगाएपछि बनेको लेदोले तल्लो तटीय क्षेत्रमा क्षति पुर्याएको उनीहरुले बताए। मेलम्ची र पेमादाङ खोलाको दोभानबाट आएको गेग्रानले ठूलो रुप लिंदा तल्लो तटीय क्षेत्रमा असर पुर्याएको सिनियर डिभिजनल जियोलोजिष्ट बास्कोटाले जानकारी दिए।
मेलम्ची खोला आउने ठाउँमा १ हजार ५ सय मिटर लम्बाइ र ७ सय मिटर चौडाई भएको भेमाथाङ चौरमा थुप्रिएको गेग्रान मेलम्चीमा आएको बाढिले बगाएको विज्ञले बताएका छन्।
चौरमा १० मिटर अग्लो गेग्रान थुप्रिएको र त्यो मध्ये करिव १ सय मिटर क्षेत्रफलको मात्र गेग्रान बगेर आएको बाढिपछि भेमाथाङ पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए। 'ठूलो परिमाणमा गेग्रान जम्मा भएर बसेको छ,' अध्यक्ष शेर्पाले भने, 'सामान्य आँखाले हेर्दा पनि त्यो जुनसुकै बेला बगेर आउन सक्ने खतरा देखिन्छ।'
भेमाथाङको माथिल्लो क्षेत्रमा लगातार जाने पहिरोको कारण जम्मा भएको गेग्रान बाढीमा मिसिएपछि हेलम्बु र मेलम्चीमा क्षति पुर्याउने गरी बाढी आएको इसिमोडले गरेको अध्ययनमा पनि उल्लेख छ ।
इसिमोडले गरेको अध्ययनमा भेमाथाङ माथि पेमादाङ खोलाको मुहानमा पहिरोले बनाएको ताल फुटेर बाढी आएको उल्लेख गरेको छ ।
माथिबाट आएको बाढीले भेमाथाङमा जम्मा भएको गेग्रान बगाएर ल्याउँदा मेलम्ची खोलामा बाढि आएको इसिमोडका जलवायु परिवर्तन विज्ञ अरुणभक्त श्रेष्ठले उकेरालाई बताए। मौसम, पहिरो, गेग्रान लगायतका विभिन्न कारणले तल्लो टतीय क्षेत्रमा क्षति पुग्ने गरी मेलम्ची खोलामा बाढि आएको इसिमोडको अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ ।
साउन २९, २०७८ शुक्रबार १५:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।