मान्छेलाई आक्रमण गर्ने भालुलाई गोली हानेर मारियो

मान्छेलाई आक्रमण गर्ने भालुलाई गोली हानेर मारियो

भालु गाउँमा पसेर स्थानीयलाई आक्रमण गर्न थालेपछि बिहीबार बिहानदेखि नै प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र वन कार्यालयका कर्मचारीहरु नियन्त्रण लिन निरन्तर लागिपरेका थिए।

स्थानीयलाई आक्रमण गरेको करिब ७ घण्टापछि भालु भेटिएको थियो।

सुरक्षित रुपमा नियन्त्रणमा लिन हरेक प्रयास गरेपनि नसकेपछि प्रशासनको आदेशमा गोली हानेर मारिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी दानबहादुर थापाले बताए ।

‘भालुले स्थानीयलाई आक्रमण गरेपछि सहज रुपमा उद्धार गर्न खोजेका थियौं, टोलीलाई नै आक्रमण गर्न थालेपछि गोली हान्नुपर्ने बाध्यता आएको हो,’डिएसपी थापाले भने, ‘भालुलाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीहरु खटिएका थियौं।’

उक्त भालुले जुम्लामा तीन जनालाई आक्रमण गरेको थियो । भालुले बिहीबर बिहान (आज) दैलेख घर भई चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा मोबाइल पसल गर्दै आएका २९ वर्षीय हिमबहादुर रोकाया, उनकी श्रीमती २६ वर्षिया निर्मला थापा रोकाया र चन्दननाथ ४ सिंगाचौरका आशीष सार्कीलाई आक्रमण गरेर घाइते बनाएको थियो। प्रहरीका अनुसार उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

साउन २८, २०७८ बिहीबार १८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।