गठबन्धन सरकार मिलीजुली खानका लागि हो, यो धरापमा पर्छ : केपी ओली 

गठबन्धन सरकार मिलीजुली खानका लागि हो, यो धरापमा पर्छ : केपी ओली 

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले भन्दैमा सबै सत्य नहुने बताएका छन्। उनले संसद् विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला विधि र प्रक्रिया विपरीत रहेको आरोप समेत लगाएका छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने आफू नेतृत्वको सरकारको निर्णय संवैधानिक भएको जिकिर समेत गरे। 

उनले वर्तमान गठबन्धन सरकार भने अलोकतान्त्रिक भएको आरोप लगाए। उनले भने, 'यो सरकारलाई संवैधानिक भन्न सकिँदैन।'

ओलीले भूमिहीनलाई जग्गा दिन गठन भएको भूमि आयोग खारेज गरेर गरिबमाथि सरकारले बन्चरो हानेको आरोप समेत लगाए। 

उनले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्न सरकारलाई चुनौती पनि दिएका छन्। गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानबिन गर्ने उल्लेख गरेपछि ओलीले माओवादी शिविरमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्न चुनौती दिएका हुन्। 

ओलीले ललिता निवासमा भएको भ्रष्टाचारको विषय पनि उठाएका छन्। उनले भने, 'गठबन्धन सरकार मिलीजुली खानका लागि बनेको हो। यो धरापमा पर्छ।'

साउन २६, २०७८ मंगलबार १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।