एमाले अध्यक्ष ओलीको प्रश्न : सरकारले एमसिसी किन बिर्सियो?
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको एक महिना त्यत्तिकै बितेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले सरकारले एक महिना त्यत्तिकै खेर फालेको आरोप लगाए।
सरकारले पूर्णता नपाएको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा चार मन्त्री लिएर बसेको बताए। ‘चार जना मन्त्री लिएर बस्नु भएको छ, सबै मन्त्रालय आफैंसँग राख्नु भएको छ,’ओलीले भने, ‘सबै मन्त्रालय घुमेर पनि भ्याउनुहुन्न।’
दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभामा ओलीले आज पहिलो पटक आफ्ना कुरा राखेका हुन्।
ओलीले आफूलाई प्रधानमन्त्रीबाट हट्नु परेकोमा चिन्ता नभएको पनि बताए। उनले आफ्नो चिन्ता लोकतान्त्रिक प्रणालीमा रहेको उल्लेख गरे।
उनले वर्तमान गठबन्धन सरकार १४/१५ महिना शुभकामना र बधाईमा चल्ने दावी समेत गरे।
'सरकारको कार्यक्रम हो कि साझा कार्यक्रम हो?' ओलीले भने, 'संसद् छलेर सरकारले बाहिरबाट साझा कार्यक्रम ल्याएको छ।'
साझा कार्यक्रममा एमसिसी नदेखेको भन्दै ओलीले एमसिसी के गर्नुहुन्छ? भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछौ भन्न नसकेको ओलीको आरोप छ। उनले नेपालको भूमि फिर्ता लिन माग समेत गरे।
साउन २६, २०७८ मंगलबार १४:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।