प्राधिकरणमा कुलमानको नियुक्ति प्रधानमन्त्री निकटको 'हल्ला मात्रै'
काठमाडौँ : सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने दाबी गरिए पनि बैठकले त्यस्तो केही निर्णय गरेन।
प्रधानमन्त्री देउवाले एक साता अगाडि नै घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएको दाबीहरू सार्वजनिक भएको थियो। सोही अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकमा घिसिङको नियुक्तिको निर्णयको चर्चा चलेको थियो।
तर सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बैठकका निर्णय सार्वजनिक गर्दा कुलमानको नियुक्तीबारे केही उल्लेख गरेनन्। बैठक लगत्तै कार्कीले सञ्चारकर्मीमाझ सार्वजनिक गरेका निर्णयमा बैठकले कर्मचारीको नयाँ तलबमान तय गर्ने निर्णय गरेको छ। बैठकले केही सचिवहरूको सरुवा गर्ने निर्णय गरेको उनले सार्वजनिक गरे।
कार्कीले सार्वजनिक गरेको निर्णय अनुसार बैठकले गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ। रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ। प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्यालको सरुवा सञ्चार मन्त्रालयमा भएको छ।
प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याल महालेखा परीक्षकको कार्यालय आएका छन्। कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेको सरुवा भूमि व्यवस्था मन्त्रालयमा भएको छ।
प्राधिकरणको कार्यकारी निर्देशकमा नयाँ नियुक्तीबारे उनले केही सार्वजनिक गरेनन्। यसबारे बुझ्न उनीसँग पटक-पटक सम्पर्क गर्न प्रयास गर्दा उनले मोबाइल उठाएनन्। सोमबार बेलुकासम्म वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कतै सरुवा भएको छैन। उनले राजीनामा समेत दिएका छैनन्।
साउन २५, २०७८ सोमबार २०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।