विपन्नलाई वितरण गर्न ल्याइएको चामल गोदाममै कुहिएपछि खाल्डो खनेर पुरियो
सुर्खेत : कोरोना महामारीको चपेटामा परेका विपन्न र मजदूरलाई वितरण गर्नुपर्नेे चामल गोदाममै कुहिएपछि खाल्डोमा पुरिएको छ।
दैलेखको नौमुले गाउँपालिकाले कोरोनाबाट प्रभावित परिवारलाई वितरण गर्ने भनेर खरिद गरेको चामल वितरण गर्न नपाउँदै गोदाममै कुहिएको हो।
नौमुले गाउँपालिकाले एउटा हलमा चामल थुपारेको थियो। एक सय ५५ बोरा चामल शनिबार प्रहरी, जनप्रतिनिधि र राजनीतिककर्मीको रोहवरमा खाल्डोमा पुरिएपछि स्थानीयले नागरिकले प्रश्न उठाएका छन्।
गाउँपालिकाले खाद्य डिपो दैलेखबाट गत चैतमा करिब १५६० बोरा चामल खरिद गरेको थियो। गाउँपालिका अध्यक्ष भदे बुढामगरले चामल राख्ने गोदाम ओसिलो र त्यसैमाथि असारमा पानीभित्र पसेर कुहिएका कारण खाल्डोमा पुरिएको बताए।
‘कोरोना प्रभावितलाई भनेर हामीले करिब २७ लाख बराबरको चामल खरिद गरेका थियौं, केही चामल बाँड्यौं, केही रहेको चामल आवश्यकता अनुसार बाँडौंला भनेर राखेका थियौं। पानी पसेर १५५ बोरा कुहिएछं,’ उनले भने, ‘खरिद गरिएकोमध्ये केही चामल सबै वडा कार्यालय र क्वारेन्टाइनमा पठाएका थियौं।’
पैक, द्वारी, कालिका लगायतका कोरोना प्रभावित र असिना पीडितलाई वितरण गर्ने चामलमा धेरै राजनीति भएपछि गोदममै चामल कुहिएको स्थानीयले बताएका छन्। स्थानीय प्रेम विले भने, ‘आफन्त र मन परेकालाई चार/पाँच बोरा पनि दिइयो तर हामीले त चामल राता थिए की सेता थिए, थाहा नै पाएनौं।’
साउन २५, २०७८ सोमबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।