महाकालीमा बेपत्ता धामी खोज्न ड्रोन उडाउने तयारी
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोलीलाई सरकारले ड्रोनको माध्यमबाट खोजी कार्य अगाडि बढाउन निर्देशन दिएपछि ड्रोन क्यामेराको प्रयोग गरिन लागिएको हो।
नदीमाथि ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्लाका डिएम कार्यालयलाई पत्राचार गरेको छ। नदी नेपाल र भारतको सीमा रहेकाले ड्रोन उडाउन भारतसँग अनुमति मागेका छौँ,’ अनुसन्धान समिति सदस्य एवं दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले भनिन्, ‘भारतको जवाफ आइसकेको छैन। नेपालतर्फ हामी मंगलबारबाट ड्रोन उडाउन सुरु गर्छौँ।’
काठमाडौँबाट ड्रोन क्यामेरा सहितको टोली आइतबार साँझ दार्चुला आइपुगेको र आन्तरिक तयारी गरिरहेको अनुसन्धान समितिका संयोजक जनार्दन गौतमले बताए।
तुइन लगाइएको ब्याँस गाउँपालिका–२ मालघाटदेखि सदरमुकाम खलंगासम्मको नदी र किनार करिब २५ किलोमिटर क्षेत्रमा ड्रोन क्यामेराबाट खोजी गरिनेछ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोलीले अहिले पनि बेपत्ता जयसिंहको नदी किनारमा खोजी गरिरहेको छ।
गत १५ साउनमा सदरमुकाम खलंगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि ब्यास गाउँपालिका–२, मालगाउँका जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए।
साउन २५, २०७८ सोमबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।