निर्वाचन आयोगद्वारा ४१ दलको दर्ता खारेज
काठमाडौं : निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।
आयोगको आज (मंगलबार) बसेको बैठकले लगातार तीन वर्षसम्म समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो। यससँगै अब ९५ दलको मात्रै दर्ता कायम रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार यही साउन २० गतेदेखि लागू हुने गरी ती दलको दर्ता खारेज गरिएको छ। साथै, दर्ता खारेज भएका दलको नाम, झण्डा र चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने निर्णयसमेत गरेको आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार रूपैयाँ जरिवानासमेत तोकेको छ। साथै उक्त रकम असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। खारेज भएका दलका केन्द्रीय पदाधिकारीले जरिवाना रकम नतिरे अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने आयोगले जनाएको छ।
साउन १९, २०७८ मंगलबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।