चुरोटको विषयमा विवाद हुँदा एसिड प्रहार गर्ने पक्राउ

चुरोटको विषयमा विवाद हुँदा एसिड प्रहार गर्ने पक्राउ

सुनसरी : सुनसरीको वराहक्षेत्र नगरपालिका ३ हर्दिया बस्ने ४३ वर्षीया महिलालाई एसिड प्रहार भएको छ।

एसिड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राजधामीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। 

रोमनले चुरोटको विषयमा विवाद गरेर एसिड प्रहार गरेका हुन्। श्रीमतीलाई एसिड प्रहार गर्न खोज्दा श्रीमती भागेर घाइते भएकी महिलाको घरमा पुगेकी थिइन।

रोमनले सम्झाउन खोज्ने महिलाको टाउको तथा अनुहारमा एसिड प्रहार गरेका थिए। एसिड प्रहारबाट गम्भीर घाइते भएकी ती महिलालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै थप उपचारको लागि म्याक्स अस्पताल विराटनगरमा पठाइएको प्रहरीले जनाएको छ।  

रोमनलाई एसिड आक्रमण (कुटपिट वा अङ्गभङ्ग सम्बन्धी कसुर) मुद्दामा सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

साउन १९, २०७८ मंगलबार १३:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।