न नयाँ दल, न जसपा : दलविहीन महन्थ पक्ष अन्योलमै
यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने र नयाँ पार्टी दर्ताको प्रक्रिया पनि नछाड्ने रणनीति लिएको हो। नेता लक्ष्मणलाल कर्णका अनुसार समूहमा यी दुवै विषयमा छलफल भइरहेको छ।
‘केही निर्णय भइसकेको छैन। छलफल मात्र भएको हो,’ उनले उकेरासँग भने।
आयोगले जसपाको कार्यकारिणी सदस्यहरूलाई कार्यालयमै बोलाएर हेड काउन्ट गरेर यादवको पक्षमा बहुमत देखिएको भन्दै आधिकारिक जसपा यादव समूह नै रहेको फैसला गर्दै ठाकुर समूहलाई नयाँ दल दर्ताको बाटो खुलाएको थियो।
तर नयाँ दल दर्ता गर्दा सांसद पद गुम्न सक्ने भएकाले के गर्ने भन्नेमा ठाकुर समूह अलमलमा देखिन्छ।
अदालत जाने आधार के हो भन्ने उकेराको जिज्ञासामा कर्णले आधार कानुन व्यवसायीले पहिल्याउने बताए।
‘त्यो त वकिलको काम हो। त्यो अदालत गएपछि थाहा पाई हाल्नुहुन्छ,’ उनले भने।
महन्थ पक्षका अर्का नेता केशव झा पनि दुवै विषय छलफलमै रहेको बताउँछन्। ‘के गर्ने भन्नेबारे छलफल भइरहेको छ। टुङ्गो लागिसकेको छैन,’ झाले उकेरासँग भने।
जसपामा रहने विकल्प समेत नभएको हैन उनीहरूसँग। तर केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने कि विपक्षमा उभिने भन्ने मतभेद बढेर पार्टी नै विभाजनको अवस्थामा पुगेको र दुवै समूहमा राजनीतिक विचार समेत अलग भएकाले उनीहरू जसपामै फर्कने सम्भावना देख्दैनन् राजनीतिक विश्लेषक विजयकान्त कर्ण।
उनी महन्थ पक्षसँग नयाँ पार्टी दर्ता गर्नुको विकल्प नरहेको बताउँछन्।
‘वैधानिक रूपमा आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको छ। अव उहाँहरू फेरी यादवसँग मिलेर बस्न सक्नुहुन्न,’उनी भन्छन्,‘महन्थ पक्षको प्रजातान्त्रिक पृष्ठभूमि देखिएको छ। उपेन्द्र पक्षका कम्युनिस्टहरू पृष्ठभूमि भएकाहरू छुट्टिन पुगेका छन्।’
विश्लेषक कर्ण अब यी दुईबिच एकता हुने र सँगै रहने सम्भावना नरहेको बताउँछन्।
साउन १३, २०७८ बुधबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।