राष्ट्रिय सभामा सत्ता पक्षको प्रश्न : बुझ पचाएर रुँदै रुँदै जनादेशबाट गए भन्ने?

राष्ट्रिय सभामा सत्ता पक्षको प्रश्न : बुझ पचाएर रुँदै रुँदै जनादेशबाट गए भन्ने?

नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सर्वोच्च अदालत प्रतिनिधि सभा विघटन मुद्दामा निष्पक्ष हुन नसकेको बताएका छन्।

बैठकमा उनले सर्वोच्चको इजलास न्यायाधीशको कुण्ठा र आक्रोश पोख्ने ठाउँ भएको हो? भनेर प्रश्न गरेका छन्। 

उनले न्यायालयको फैसला भनेर चुप लाग्न नमिल्ने जिकिर पनि गरेका छन्। ‘सर्वोच्चको फैसला सदनमा छलफल हुनुपर्छ,’उनले भने,‘सेटिङबाट इजलास गठन र सेटिङबाट फैसला आएको छ।’

उनले संविधानको धारा ७६ को उपधारा ५ को गलत व्याख्या गरिएको बताए। सर्वोच्च अदालतले जनताका अधिकार माथि सुड घुसाएको उनको आरोप छ। 

सत्तारुढ नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले सर्वोच्च अदालतको फैसला जनादेशको आदेश भएको बताए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीको व्यवहार खेदजनक रहेको बताए। 

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई शपथ ग्रहण गराएपछि बधाई समेत नदिएको भन्दै रायमाझीले राष्ट्रपति एउटा पार्टीको हुन्छ? भनेर प्रश्न गरे। 

नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले जनादेश र परमादेश भनेर जनतामा भ्रम नछर्न आग्रह गरे। ‘बुझ पचाएर रुँदै रुँदै जनादेशबाट गए, परमादेशबाट आए भन्ने?’ सांसद बिडारीले प्रश्न गरे। उनले परमादेशलाई गिज्याउने नैतिकता कहाँ हरायो? भनेर पनि प्रश्न गरेका छन्। 

केपी ओलीले अहिले बाँदरेको जुलुस गर्दै कोरोनाको रोपाई गरेको बिडारीले बताए। 

साउन ७, २०७८ बिहीबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।