बकर इद पर्व मनाइँदै, आज सार्वजनिक बिदा
आजको दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ। बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
पर्वका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धन हुने बताएकी छन्। साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबिच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।
‘भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान हो,’राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा लेखिएको छ,‘ हाम्रो विविधता भित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्दछ भन्ने मैले विश्वास लिएको छु।’
प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिँदै सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गरेका छन्।
उनले कोभिड–१९ को महामारीका कारण सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन अनुरोध गरेका छन्।
यस्तै सभामुख अग्नि सापकोटाले महान् पर्व बकर इदका अवसरमा शुभकामना दिँदै कोभिड-१९ को महामारी कायमै भएकोले पर्व मनाउँदा आवश्यक जनस्वास्थ्यका मापदण्डहरू अपनाउन अनुरोध गरेका छन्।
साउन ६, २०७८ बुधबार ०८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।