रेशम चाैधरीको रिहाइमा सहमतिपछि देउवालाई विश्वासको मत दिएकाे जसपा महन्थ पक्षकाे स्पष्टाेक्ति
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले रेशम चौधरीको रिहाइ लगायतका मागका सम्बन्धमा सहमतिपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको स्पष्ट पारेको छ।
आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाँच बुँदे निर्णय गर्दै यसबारे स्पष्ट पारेको हो।
बैठकपछि जसपाले निकालेको विज्ञप्तिमा सर्वाेच्च अदालतको फैसलाबमोजिम गत आइतबार देउवाद्वारा प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा औपचारिक रुपमा पत्राचार गरेको उल्लेख गरेको छ। पत्राचारपछि जसपाले विगतदेखि उठाउँदै आएको मधेस–थरुहट आन्दोलनसँग सम्बन्धित मुद्दाको र राजनीतिक अडानलाई सम्बोधन गर्ने देउवाको प्रतिवद्धतापछि विश्वासको मत दिन आफूहरू तयार रहेको विज्ञप्तिमा उल्लेख छ।
‘संविधानलाई सर्ब स्वीकार्य बनाउन संविधान संशोधन, नेता–कार्यकर्तामाथि लगाइएका झुठा मुद्दा फिर्ता, माननीय रेसम चौधरीलगायत राजबन्दीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्याको समाधान, स्थानीय तहको जनसंख्याको अनुपातमा पुनःसंरचना, संविधानमा शिल्पी, खसको पहिचान कायम गर्ने लगायत समस्या समाधान गर्ने प्रतिबद्धता सम्माननीय प्रधानमन्त्रीजीबाट व्यक्त भएको हुनाले जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने निर्णय गरेको हो,’ अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको सरकारले मुद्दा समाधानको लागि गरेको प्रयास सकारात्मक भएको भन्दै धन्यवाद दिने निर्णय गरेको छ। ओली सरकारको पालामा सकारात्मक पहल स्वरुप मुद्दा फिर्ता, नागरिकतासम्बन्धी अध्यादेश जारी, संविधान संशोधनसम्बन्धी कार्यदलको गठन लगायतको काम अगाडि बढेको उल्लेख गरिएको छ।
जसपाले सम्पूर्ण नेपाली जनताको लागि तत्काल अनिवार्य निःशुल्क खोप व्यवस्था गर्न, बाढी–पहिरो पीडितलाई राहत र व्यवस्थापन गर्न, नेपाल–भारत सिमाना भई आवत–जावतको सहजताको लागि आवश्यक प्रबन्ध गर्न र राज्यको निकाय तथा संवैधानिक अंगमा पूर्ण समावेशी सिद्धान्तको आधारमा नियुक्ति गर्न सरकारसमक्ष माग गरेको छ।
महन्थ पक्षले सरकारसँग आफ्ना मागबारे सहमति गरी ओली सरकारमा सहभागी समेत बनेको थियो। तर,अदलातको निर्णयका कारण छोटो समयमै जसपा सरकाबाट बाहिरिन पुगेको थियो।
साउन ५, २०७८ मंगलबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।