प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबिच भेट
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेट भइरहेको छ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटेर प्रचण्ड बालुवाटार पुगेका हुन्।
अर्थ र ऊर्जा मन्त्रालय लिएको नेकपा माओवादी केन्द्रले पाउने बाँकी मन्त्रालयका विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेको स्रोतले बताएको छ।
यस्तै सरकारमा जनता समाजवादी पार्टी र एमाले नेता नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री देउवासँग प्रचण्डले छलफल गर्ने स्रोतले बताएको छ।
सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुक्त काँग्रेस सभापति देउवाले काँग्रेसबाट बालकृष्ण खाँडलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री, माओवादीबाट जनार्दन शर्मालाई अर्थमन्त्री र पम्फा भुसाललाई उर्जामन्त्रीमा नियुक्त गरेका छन्।
दलहरूबिच मन्त्रालय भागबन्डा नभएकाले बाँकी मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राखेका छन्।
साउन ५, २०७८ मंगलबार १०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।