किसान र प्रेम आलेसँग रिसाए ओली : मन्त्रीको लोभमा काँग्रेसमा लागेको आरोप

किसान र प्रेम आलेसँग रिसाए ओली : मन्त्रीको लोभमा काँग्रेसमा लागेको आरोप

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु सरकारमा रहेसम्म आफ्नो पक्षमा लागेर शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरू मन्त्रीको लोभमा लागेको भन्दै आलोचना गरेका छन्।

सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको १० औँ बैठकमा बोल्दै उनले माधव नेपालको आलोचना त गरे नै सँगै आफ्नो पक्षमा देखिएर देउवालाई मत हाल्ने प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बन्न देउवातिर लागेको भन्दै आलोचना गरेका हुन्। उनले सांसद पदबाट राजीनामा दिएका भीम रावलप्रति भने सहानुभूति देखाए।

'माधव नेपालले मानेनन् भनेर भीम रावलले राजीनामा दिनु गलत हो', उनले बैठकमा भने।

पूर्व वन मन्त्री आले मन्त्री बन्न देउवातिर लागेको उनको आरोप थियो। राम्रो काम नगरेकाले उनलाई आफूले हटाएको र अहिले मन्त्री बन्न काँग्रेसको पक्षमा लागेको ओलीले दाबी गरे।

'मन्त्रीबाट हटाएपछि आले मन्त्रीको लोभमा काँग्रेसलाई समर्थन गर्न गए,' उनले भने।

आफ्नो पक्षमा रहेका तनहुँमा सांसद किसान श्रेष्ठले मन्त्री माग्दा नदिएपछि अहिले देउवातिर लागेको उनको आरोप थियो। 'श्रेष्ठले मन्त्री खोज्दै थिए। मन्त्री बनाइन अनि मन्त्री हुन काँग्रेसतिर लागे।'

श्रेष्ठले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर सांसद भएका थिए। उनी यस अगाडि ओलीको निर्देशनमा समाजवादी पार्टीका सांसदको अपहरणमा विवादमा आएका थिए।

साउन ४, २०७८ सोमबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।