फ्लोर क्रस गर्ने सांसदलाई २४ घण्टे स्पष्टीकरण, पार्टी एकताका लागि भन्दै १३ औँ बाट फर्किएर सुरु भयो १० औँ बैठक 

फ्लोर क्रस गर्ने सांसदलाई २४ घण्टे स्पष्टीकरण, पार्टी एकताका लागि भन्दै १३ औँ बाट फर्किएर सुरु भयो १० औँ बैठक 

काठमाडौँ : नेकपा एमालेले विवाद समाधान कार्यदलमा असार २७ गते भएको सहमति अनुसार पार्टी माओवादीसँग एकीकरण हुनुभन्दा अगाडीकै अवस्थामा फर्किएको जनाएको छ।

एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकबाट पछाडि फर्किएर अध्यक्ष केपी शर्मा ओलीले सोमबार केन्द्रीय कमिटीको १० औँ बैठक राखेका हुन्। सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताएपछि ओलीले १० औँ, ११ औँ, १२ औँ र १३ औ केन्द्रीय कमिटीको बैठक राखेका थिए। 

एमाले विवाद कार्यदलले गरेको १० बुँदे सहमतिको भावना अनुसार केन्द्रीय कमिटीको २०७५ जेठ २ र ३ गते बसेको ९ औँ बैठकपछि आज १० औँ केन्द्रीय कमिटीको बैठक बसेको एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए। 

उनले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको बताए। एमाले केन्द्रीय कमिटीको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको थियो। १३ औँ बैठक बसे पनि एमालेले आजको बैठकलाई १० औँ बैठकको नामाकरण गरेको प्रवक्ता ज्ञवालीले बताए। 

एमालेले संसदमा देखिएको परिदृश्य र एमालेको जीवनमा पारेको प्रभावका बारेमा अध्यक्ष ओलीले बैठकमा चर्चा गरेका उनले बताए। बैठकपछि प्रवक्ता ज्ञवालीले विश्वासको मत लिने शेरबहादुर देउवाको प्रस्तावमा भएको मतदानको दृश्यलाई बैठकले नेपालको अग्र गतिका प्रयासहरूमा धक्का पुगेको निष्कर्ष निकालेको बताए। 

प्रतिनिधिसभामा पार्टी निर्णयको अवज्ञा गर्दै फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरूसँग स्पष्टीकरण माग गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए। एमालेले २४ घण्टाभित्र २२ जना सांसदको स्पष्टीकरण माग गर्ने निर्णय गरेको उनले बताए। 

उनले स्पष्टीकरण नआए के हुन्छ भन्ने केही खुलाएनन्। स्पष्टीकरण आएपछि पार्टीमा छलफल गरेर निर्णय हुने उनको भनाई छ। एमालेको केन्द्रीय कमिटीको बैठक भोलि फेरी बस्ने ज्ञवालीले बताए। 

साउन ४, २०७८ सोमबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।