देउवालाई मत दिँदा एमालेमा तीन गुट
तर जब मतदान भयो कुनै गुटको अनुमान पनि मिलेन। दुई गुट मात्र रहेको एमालेमा तेस्रो बहिष्कार गर्ने गुट पनि निस्कियो। अनि विपक्षमा रहेका भनिएका सांसदहरू पक्षमा मतदान गरे।
देउवालाई एमालेबाट माधव नेपाल समूहको २२ सांसदको मत पर्ने अनुमान थियो। एकाएक भीम रावलले राजीनामा दिएपछि संख्या २१ मा झर्यो। तर मत खस्दा २१ मध्ये ८ जनाले कतै मतै हालेनन्।
उता ओली समूह कमसेकम ९१ मत विपक्षमा पर्नेमा ढुक्क झै थियो। तर उसको अनुमान पनि फेल खायो। ओली समूहका ८ सांसद पक्षमा खुले। विपक्षमा ८३ मत मात्र पर्यो।
नेपाल समूहमा रहेका सांसदमध्ये उनी सहित विरोध खतिवडा, निरादेवी जैरु, जीवनराम श्रेष्ठ, सरला यादव, कृष्णलाल महर्जन, रामकुमार झाक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपाने पक्षमा मतदान गरेका थिए।
विपक्षमा मत हाल्ने आँकलन गरिएको ओली समूहका सांसद पार्वती विसंखे, कलिला खातुन, प्रेम आले, हिरा केसी, समिमा हुसेन, धनबहादुर बुढा, विनादेवी बुढाथोकी र किसान श्रेष्ठले पक्षमा मतदान गरे।
पक्षमा मतदान गर्ने अपेक्षा गरिएको नेपाल समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दीपक भट्ट, झपट रावल, सोमनाथ पाण्डे र नारायण खतिवडाले कतै मतदानै गरेनन्।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर समेत देउवाको पक्षमा उभिएपछि एमाले एकताको पक्षमा रहेका पाण्डे र भुसालहरूका लागि मतदानमा सहभागी नहुने राम्रो मौका मिलेको थियो। देउवाको पक्षमा मतदान नगरे विश्वासको मत नपाउने अवस्थामा उनीहरू यति सहजै मतदानमा अनुपस्थित हुन सक्दैनथे।
उनीले पक्ष र विपक्ष कतै मतदान नगर्दा एमाले एकताको प्रयासको बाटो अझै खुल्ला भएको छ। तर एकताको मुख्य निर्णायक नेपालले भने पक्षमा खुलेर मतदान गरेका छन्।
गतिलो सरप्राइज भने ओली समूहका आठ सांसदले दिए। यस अगाडि आलेले प्रधानमन्त्री देउवा भेटेको बाहेक अन्य सांसदबारे केही सूचना चुहिएको थिएन। महेश बस्नेत निकट रहेका र ओलीको निर्देशनमा सांसद अपहरणमा संलग्न रहेको आरोप खेपेका किसन देउवा पक्षमा खुलेर ओली खेमालाई सरप्राइज दिए।
साउन ३, २०७८ आइतबार २३:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।