बाबुरामले भने: नरक जाने बाटो पनि राम्रै बनाइएको हुन्छ, अब कुतर्क नगरौँ

बाबुरामले भने: नरक जाने बाटो पनि राम्रै बनाइएको हुन्छ, अब कुतर्क नगरौँ

काठमाडौँ : जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले संविधान र गणतन्त्रको हत्याको प्रयास भएकोमा अदालतले जोगाएको बताएका छन्।

प्रतिनिधि सभाको दोस्रो बैठकमा सम्बोधन गर्दै उनले भने' नरक जाने बाटो पनि राम्रै बनाइएको हुन्छ।'

उनले पुस पाँच गतेबाट संसद्को पटक-पटक हत्या गर्ने प्रयास भएको, देशलाई अँध्यारो सुरुङमा धकेल्ने खतरा पैदा गरेको भन्दै सर्वोच्चले संविधान बनाउँदा भएका गल्तीलाई बढो सुन्दर ढङ्गले व्याख्या गरिदिएको बताए।

'हामी यो संविधानमा असहमति राख्ने शक्ति हौँ। तर यो संविधानको पक्षमा किन लाग्यौ भने हामी आधा गिलास जोगाएर पुरा गिलास बनाउन लड्ने हो। भष्माशुर प्रवृत्तिले त्यो आधा गिलास पनि खोसिने भएकाले पहिला त्यसलाई फर्काऊ भनेर लागेको,' उनले भने।

उनले कुतर्क गरेर फेरि गल्ती गर्ने काम नगरौँ भन्दै भने' देश प्रतिगमनतिर गएकै थियो। त्यसलाई अदालतले रोकेकै हो। अब गल्ती नगरौँ।'

सनकको भरमा संसद् भङ्ग गरेर अध्यादेशबाट देश चलाउन खोजेको भन्दै उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरे।

साउन ३, २०७८ आइतबार २०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।