प्रधानमन्त्री देउवाले ओलीलाई 'असल कामका लागि' दिए धन्यवाद

प्रधानमन्त्री देउवाले ओलीलाई 'असल कामका लागि' दिए धन्यवाद
फाइल फाेटाे।

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई असल कामका लागि धन्यवाद दिएका छन्। प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत माग्दै उनले भने'  ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नु भएको छ। उहाँले गर्नु भएका असल कामका लागि धन्यवाद दिन चाहन्छु।'

उनले विगतमा भएका राम्रा कामहरूलाई निरन्तरता दिँदै कमी कमजोरी सुधार गर्दै लानु पर्ने बताएका थिए।

प्रतिनिधि सभामा उनले गरेको सम्बोधन :

प्रतिनिधि सभा विघटन पश्चात् सम्माननीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनर्स्थापित भएको छ । आज सभाको आठौँ अधिवेशन प्रारम्भ भइरहेको छ। नेपाली जनताको ठुलो त्याग, तपस्या र बलिदानले देशमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ।

पटक–पटकको प्रतिनिधि सभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्योल र अनिश्चितताको स्थिति रह्यो। नेपालको संविधानको धारा ७६ (३) बमोजिम नियुक्त हुनु भएका निवर्तमान प्रधानमन्त्री माननीय केपी शर्मा ओलीजीले धारा ७६ (४) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत नलिई  धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ भयो।

केही समयको राजनीतिक र संवैधानिक अभ्यास पश्चात् म नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको छु। र मेरो नेतृत्वमा मन्त्रीपरिषद् गठन भएको छ।

अहिले मुलुक निकै जटिल अवस्थामा छ । विश्वव्यापी रूपले फैलिएको कोभिड–१९ को प्रकोपले हामी निकै प्रभावित भएका छौ। दैनिक रूपले सङ्क्रमण बढी रहेको छ। मानिसहरूको मृत्यु भइरहेको छ।

नेपाली नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ। सरकारले कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरू अवलम्बन गर्नेछ भन्ने म प्रतिबद्धता व्यक्त गर्दछु।

यहाँ उपस्थित सबै राजनीतिक दलहरूको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव छ। बहुदलीय व्यवस्थामा फरक–फरक राजनीतिक बिचार हुने तीनका बिचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषयहरू स्वाभाविक र राम्रा हुन। ती आवश्यक पनि छन्।

तथापि हाम्रा केही साझा चुनौती, उद्देश्य र गन्तव्य छन्। जसका लागि हामीले सहकार्य र सहयात्रा गर्नु पर्छ। कोभिड—१९ हाम्रो तत्कालको चुनौती हो। गरिबी, बेरोजगारी, अशिक्षा जस्ता तमाम साझा समस्या छन्। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन।

नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो। यसका लागि हाम्रा बिचमा सहकार्य र सहयात्राको आवश्यकता छ।

हामी सबैसँग आ–आफ्ना अनुभवहरू छन्। ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नु भएको छ। वहाँले गर्नु भएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु। वहाँको अनुभव हाम्रा लागि उपयोगी हुनेछ। विगतमा भएका राम्रा कामहरूलाई निरन्तरता दिँदै कमी कमजोरी सुधार गर्दै लानु पर्नेछ। महत्त्वपूर्ण नयाँ कामहरू पनि गर्नु।

देशमा सुशासन कायम गर्नु। यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरू बिच निरन्तर संवाद, सहकार्य र सामूहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ। यसका लागि म सदैव प्रयत्नशील रहने छु। हामी राजनीतिक दलहरू एक अर्काका शत्रु होइनौ बरु हाम्रा साझा उद्देश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नु पर्दछ।

संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग तपस्या र बलिदानपूर्ण सङ्घर्ष भएको हो। सांसदलाई अधिकार सम्पन्न, जीवन्त र क्रियाशील बनाउनु पर्दछ। सरकार सांसदप्रति उत्तरदायी रहनु पर्दछ भने सांसदले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नु पर्दछ। यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ। निरन्तरको राजनीतिक अन्योल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिँड्न जरुरी छ।

साउन ३, २०७८ आइतबार १९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।