देउवालाई प्रदीप ज्ञवालीको कटाक्ष : उहीले श्रीपाँचको न्याय, अहिले श्रीमान् पाँचको

देउवालाई प्रदीप ज्ञवालीको कटाक्ष : उहीले श्रीपाँचको न्याय, अहिले श्रीमान् पाँचको

काठमाडौँ : एमाले नेता तथा सांसद प्रदीप ज्ञवालीले अदालतले सिधै प्रधानमन्त्री तोक्ने कल्पना गर्न नसक्ने भन्दै सर्वोच्च अदालतको फैसलाको आलोचना गरेका छन्।

प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उनले जतिसुकै अप्रिय भए पनि सर्वोच्चको फैसला स्वीकार गर्ने भन्दै उनले यसले लोकतन्त्रको पिल्लर खलबलिएको बताएका छन्।

सर्वोच्च अदालतले शक्ति पृथकीकरणको सिद्धान्त खलबल्याएको बताउँदै उनले भने' अदालतले सिधै प्रधानमन्त्री तोक्ने कल्पना गर्न सक्दैनौ।'

उनले माघ १९ अगाडि काँग्रेस नेता शेरबहादुर देउवाले श्रीपाँचबाट न्याय पाएको भन्दै प्रधानमन्त्री बन्न गएको प्रसङ्ग उल्लेख गर्दै अहिले सर्वोच्च अदालतबाट आएको फैसलासँग जोड्दै भने'  मैले आज श्रीपाँचबाट न्याय पाए भनेर देउवाजी प्रधानमन्त्री बन्न जानुभएको थियो। अहिले पाँच जना श्रीमानबाट प्रधानमन्त्री हुनुभयो।'

उनले भने' उहीले श्रीपाँचको न्याय अहिले श्रीमान् पाँचको।'

सर्वोच्च अदालतले आफै प्रधानमन्त्री तोक्ने कामलाई उनले रेफ्रीले आफै गोल हानेको दाबी गरे। रेफ्रिले आफैँले गोल हानेर आफैँ विजेता घोषणा गरेर देउवा प्रधानमन्त्री बनेको उनले दाबी गरे।

सर्वोच्च अदालतले संविधानको व्याख्या गर्नुपर्नेमा संशोधन गरेको दाबी गर्दै देउवाले 'ज्योतिषले सात पटक प्रम हुन्छ भनेको' भन्दै भने' सातै पटक त प्रधानमन्त्री बन्नुहोला। तर यसरी प्रधानमन्त्री बन्दा लोकतन्त्र बलियो होला?'

साउन ३, २०७८ आइतबार १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।