प्रतिनिधि सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने दायित्व थपिएको छ : सभामुख 

प्रतिनिधि सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने दायित्व थपिएको छ : सभामुख 
सांकेतिक तस्बिर।

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनः क्रियाशील भएसँगै यसलाई गतिशील, जीवन्त र जनमुखी बनाउने दायित्व थपिएको बताएका छन्। 

प्रतिनिधिसभा पुनःस्थापना भएपछिको पहिलो बैठकमा मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्। 

‘प्रतिनिधि सभा पुनः क्रियाशील भएसँगै हामीलाई सार्वभौमसत्ताको अभ्यास गर्ने अवसर मात्र प्राप्त भएको छैन। यस सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने अहम दायित्व पनि थपिएको छ,’ उनले भने, ‘यो विशुद्ध कार्यभारका लागि सिंगो संसद, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु एवं सम्पूर्ण माननीय सदस्यको रचनात्मक भूमिका हुनेछ भन्नेमा म पूर्णरूपमा विश्वस्त छु।’

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन्। 

गत असार २८ गते सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको थियो। यस्तै, साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति संसद् विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनावको घोषणा गरेकी थिइन्। 

उक्त कदमविरुद्ध १ सय ४६ सांसद्ले सर्वाेच्चमा रिट दायर गरेका थिए। 

साउन ३, २०७८ आइतबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।