सांसद पदबाट राजीनामा दिने भीम रावलको घोषणा
काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन्। पछिल्लो समय एमाले एकतामा सक्रिय रहेका उनले संसद पदबाटै राजिनामाको घोषणा गरे। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल दुई तिर उभिएपछि उनले राजीनामाको घोषणा गरेका हुन्।
उनी राजीनामा बोकेर संसद् सचिवालय पुगेका थिए। त्यहाँ राजीनामा बुझाउन साथीहरूले रोकेको भन्दै उनले संसद् भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।
पार्टी एक बनाउन गठित कार्यदलमा नेपाल पक्षबाट नेतृत्व गरेका उनी पछिल्लो समय १० बुँदे सहमति कार्यान्वयन गर्न सक्रिय थिए। पार्टी एकताको पक्षमा लाग्दा आफ्नो चरित्र हत्या गरेको भन्दै उनले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएका थिए।
२०७४ को निर्वाचनमा उनी अछाम क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए।
साउन ३, २०७८ आइतबार १६:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।