एमाले स्थायी समितिको बैठकको निष्कर्ष– पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरिनु एमाले फुटाउने षड्यन्त्र 

एमाले स्थायी समितिको बैठकको निष्कर्ष– पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरिनु एमाले फुटाउने षड्यन्त्र 
आज बसेको एमाले स्थायी कमिटीको बैठक। तस्बिर : सञ्जीव बगालेको ट्विटर ह्याण्डलबाट।

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णय गरिनुमा पार्टी विभाजन गर्ने षडयन्त्र भएको ठहर गरेको छ। 

ललितपुरको च्यासलमा सम्पन्न स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले स्थायी कमिटीको बैठकले षडयन्त्रपूर्वक ढंगले आज विश्वासको मत लिन लागिएको निष्कर्ष निकालेको जानकारी दिए।

उनले भने, ‘एमाले कतै मिलिहाल्छ कि भन्ने डरले वा एमालेलाई विभाजन गराउने प्रयासबाट आज विश्वासको मत लिने निर्णय गरेको देखिन्छ।’

पाटी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा मतदान गराउन आज बिहान भएको प्रयत्न असफल भएको उनले बताए। 

‘माधव नेपालले अरू कसैले विश्वासको मतको पक्षमा मत नदिए पनि आफू एक्लैले भए पनि पक्षमा मत दिने अडान लिनुभयो। सिंगो एमालेले विपक्षमा मतदान गर्ने परिस्थिति बनेन,’ उनले भने, ‘उहाँले नयाँ कोर्समा अगाडि बढ्ने एक खालको निर्णय गरिसक्नुभएको रहेछ। उहाँ अब एमालेमा रहनुहुन्न।’

साथै उनले प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत दिने सांसदलाई पनि पार्टीमा नराख्ने निष्कर्ष निकालिएको पनि जानकारी दिए। 

विश्वासको मत लिने प्रक्रिया सकिएपछि अनौपचारिक छलफल गरेर विश्वासको मत दिने सांसदहरूको बारेमा निष्कर्ष निकाल्ने र भोलि केन्द्रीय कमिटीको बैठकबाट त्यसबारे निर्णय लिइने उनले बताए। 

साउन ३, २०७८ आइतबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।