लामो दुरीको सार्वजनिक यातायात खुलाउने तयारी
काठमाडौँ : आन्तरिक हवाई उडानमा चाप बढेपछि सरकारले लामो दुरीको सार्वजनिक यातायात खुलाउने तयारी गरेको छ।
अधिकांश जिल्लामा आन्तरिक यातायात खुला भइसकेको छ। सरकारी तथा सार्वजनिक कार्यालय खुले पनि लामो दुरीको यातायात भनेको खुलेको छैन।
कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) का एक सदस्यका अनुसार बैठकमा यसबारे पटक-पटक छलफल भएको छ।स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्दै लामो दुरीका सार्वजनिक यातायात खुलाउन समिति राजी छ।
'तेस्रो लहरको जोखिम भए पनि प्राय सबै क्षेत्र खुला भइसक्यो। सार्वजनिक यातायात मात्र रोकेर जोखिम रोकिने हैन,' समितिका ती सदस्यले भने' आन्तरिक उडान खुलेको अनि प्राय जिल्लाको आन्तरिक यातायात खुलेकाले आगामी साताबाट लामो दुरीको आन्तरिक यातायात खुलाउने तयारी छ।'
सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, मास्क अनिवार्य, स्यानिटाइजरको प्रयोग लगायतका मापदण्ड पालना गराएर यातायात सञ्चालनको अनुमति दिने तयारी गरेको हो।
काठमाडौँ उपत्यकाबाट निजी सवारीसाधन काठमाडौँ बाहिर जान पाउने निर्णय भइसकेको छ। असार ३१ गते बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निजी सवारीसाधनका हकमा उपत्यका प्रवेश गर्न पास नचाहिने निर्णय समेत गरिसकेको छ। लामो दूरीका यातायात सुरु गर्न सिसिएमसीको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ।
साउन ३, २०७८ आइतबार ०९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।