जसपामा महन्थ समूह कमजोर हुँदै, पाँच सांसद गए उपेन्द्र समूहमा

जसपामा महन्थ समूह कमजोर हुँदै, पाँच सांसद गए उपेन्द्र समूहमा

प्रतिनिधि सभा ब्युँतिएसँगै ठाकुर समूहमा रहेका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डलऽ रूही नाज मिकरानी र नरमाया ढकाल यादव समूहमा लागेका छन्। उनीहरू यादव समूहको पार्टी कार्यालय, बालकुमारीमा शनिवार बसेको संसदीय दलको बैठकमा सहभागी भए।

प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने विषयमा विवाद भएपछि तटस्थ बस्न या विपक्षमा मतदान गर्न खुल्ला राख्दा उनीहरू तटस्थ बसेका थिए। जसपा बाट प्रतिनिधि सभामा ३२ सांसद छन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जसपा बाट १२ जनाले हस्ताक्षर गरेका थिए। पाँच सांसदले ठाकुरको साथ छाडेपछि अब दुवै समूहमध्ये यादवसँग १७ र ठाकुरसँग १६ सांसद भएका छन्।

पार्टीमा देखिएको विवाद समाधान गर्न निर्वाचन आयोगले पहल गर्दा उनीहरूले पार्टी विभाजनको प्रक्रिया अगाडि बढाउन गरेको आग्रह अनुसार आइतबार आयोगमा इजलास बस्दै छ।

राष्ट्रिय कार्यकारिणीमा यादव पक्षको बहुमत भए पनि संसदीय दलमा भने ठाकुर पक्ष हाबी थियो। यादव पक्षका नेताहरू अन्य सांसद समेत यादव पक्षमा आउन तयार रहेको दाबी गरेका छन्।

जसपा समेतको समर्थनमा देउवा नेतृत्वमा सरकार बने पनि उनीहरू सरकारमा सहभागी भएका छैनन्। पार्टीको विवाद समाधानपछि मात्र सरकारमा सहभागी हुने उनीहरूको रणनीति देखिन्छ। शनिवार मात्रै ठाकुरसहितको नेताले एमाले अध्यक्ष ओलीलाई भेटेर सहकार्य अगाडि बढाउने विषयमा छलफल गरेका थिए।

साउन २, २०७८ शनिबार १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।