सांसदहरूको कोरोना परीक्षण : पोजेटिभ आए बैठकमा उपस्थित हुन नपाइने
काठमाडौं : साउन ३ गतेका लागि आव्हान भएको सङ्घीय संसद्को दुवै सदनको अधिवेशनको तयारी सुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ गते आइतबार दिउँसो ४ बजेका लागि आव्हान गरेको अधिवेशनको तयारी सुरु भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूको आज बिहान ११ बजेदेखि कोरोना परीक्षण हुँदैछ। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सांसदहरूको एन्टिजेन परीक्षण हुने सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।
एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ आउनेको पिसिआर परीक्षण हुने उनले बताए। ‘एन्टिजेनमा पोजेटिभ आएमा पिसिआर परीक्षण हुन्छ,’डा. पाण्डेले उकेरासँग भने,‘पिसिआरमा पनि पोजेटिभ आए बैठकमा उपस्थित हुन पाइँदैन।’
उनले अधिवेशनका लागि भौतिक तयारी, सुरक्षा मापदण्ड लगायतका काम सुरु भएको जानकारी दिए।
सत्ता र प्रतिपक्षको सिट व्यवस्थापन
सङ्घीय संसद् सचिवालयले सत्ता पक्ष र प्रतिपक्षका सांसदको सिट व्यवस्थापनको काम गर्दैछ। यसअघिको सिटलाई सत्ता र प्रतिपक्ष सांसद सङ्ख्याका आधारमा सिट व्यवस्थापन हुने प्रवक्ता पाण्डेले बताए।
सर्वोच्च अदालतको आदेशपछि दोस्रो पटक पुनर्स्थापना भएको संसदमा यसअघि प्रतिपक्षमा रहेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी सत्तापक्षको रोहमा हुनेछ भने सत्तापक्षबाट प्रतिपक्ष भएको नेकपा एमाले प्रतिपक्षको रोहमा हुनेछ।
यस्तै सभामुख अग्नि सापकोटाले दुवै सदनको सभाकक्षको अवलोकन गर्ने सभामुखको निजी सचिवालयले जनाएको छ।
साउन १, २०७८ शुक्रबार १०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।