सर्वोच्च बारले भन्यो- फैसलाको स्वस्थ टीका टिप्पणी हुन सक्छ, आदेशविरुद्ध अमर्यादित गतिविधि गर्नु अदालतको मानहानी

सर्वोच्च बारले भन्यो- फैसलाको स्वस्थ टीका टिप्पणी हुन सक्छ, आदेशविरुद्ध अमर्यादित गतिविधि गर्नु अदालतको मानहानी

काठमाडौं : सर्वोच्च अदालत बार एसोसियसनले अदालतको फैसलामाथि स्वस्थ टीका टिप्पणी हुन सक्ने भए पनि आदेशविरुद्ध भ्रम र अफवाह फैलाउनु अदालतको मयार्दाविपरीत हुने जनाएको छ। 

सर्वोच्च बारले संवैधानिक इजलासबाट प्रतिनिधि सभा विघटन मुद्दामा गरेको फैसलालाई लिएर राजनीतिक पार्टीका नेता, कार्यकर्ता तथा अन्य विभिन्न व्यक्तिले प्रधानन्यायाधीशको पुत्ला दहन गर्ने र पदीय मर्यादामाथि गम्भीररूपमा आक्षेप लगाएको भन्दै विज्ञप्ति निकालेर यस्तो प्रतिक्रिया दिएको हो। बारले यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँका कार्यकर्ताद्वारा अदालतको आदेशका विरुद्ध भ्रम तथा अफवाह फैलाउने उद्देश्यले अभिव्यक्त गरिएका अभिव्यक्ति र अशोभनीय आक्रामक शैलीप्रति बार खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको गरिमालाई कायम राख्न न्यायलयबाट हुने आदेश तथा फैसलाको मूल्यांकन र विश्लेषण, प्राज्ञिक तथा स्वस्थ टीका टिप्पणी गर्न सकिन्छ। तर, केपी शर्मा ओली तथा उहाँका कार्यकर्ताद्वारा न्यायालय र न्यायमूर्तिविरुद्ध अनास्था पैदा गरी काण्ड मच्चाउने किसिमका अभिव्यक्तिले स्वतन्त्ररूपमा आँच पुगेको यस बारको ठम्याइ छ।’

बारले संविधान, प्रचलित मूल्य मान्यता तथा सिद्धान्तका आधारमा अदालतको सम्मान गर्न र आदेशको विरुद्ध कुनै अमर्यादित गतिविधि नगर्न र संयमित हुन आग्रह गरेको छ।

साउन १, २०७८ शुक्रबार ००:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।