रूपा सुनारको कल रेकर्ड अनुसन्धान गर्न र पूर्वमन्त्री श्रेष्ठमाथि जाहेरी दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश

रूपा सुनारको कल रेकर्ड अनुसन्धान गर्न र पूर्वमन्त्री श्रेष्ठमाथि जाहेरी दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : रूपा सुनारले तत्कालीन मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले सुनारको कल रेकर्ड पेस गर्न र पूर्वमन्त्री श्रेष्ठमाथि अनुसन्धान गर्न अन्तरिम आदेश दिएको छ।

तत्कालीन मन्त्री श्रेष्ठमाथि परेको जाहेरी दर्ता गरी कारबाही गर्न, अनुसन्धानमा प्रक्रिया अगाडि बढाउन, पीडितको मोबाइल नलिन भनी अन्तरिम आदेश माग राखी सुनारले दायर गरेको रिटमा न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।

मुद्दामा सरस्वती प्रधानलाई पुनः पक्राउ गर्नु भन्ने अन्तरिम आदेश माग गरिएको थियो। तर, सर्वोच्चले प्रधानको नाममा अन्तरिम आदेश जारी गरेको छैन। रूपा सुनारको हकमा फोन कल रेकर्ड अनुसन्धान गर्न आदेश दिइएको छ। 

‘निवेदिका (रूपा सुनार)ले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र निज सरस्वती श्रेष्ठ हिरासतमुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्णगोपाल श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगी गएको भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले निज कृष्णगोपाल श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू, गराउनू,’ पूर्वमन्त्री श्रेष्ठको हकमा अदालतको आदेशमा भनिएको छ। 

‘निवेदिकाले विपक्षी प्रहरी कार्यालयले निरन्तर आफ्नो मोबाइल फोन पेस गर्न दबाब दिएको भन्ने व्यहोरा उल्लेख गरेको र महानगरीय प्रहरी वृत्तको मिति २०७८/३/१५ को पत्रबाट मोबाइल पेस गर्न अनुरोध गरेको अनुसन्धान मिसिलबाट देखिएकोले उक्त मोबाइल अपराध अनुसन्धानका क्रममा आवश्यक पर्ने भएमा निजहरूबीच भएको संवादका सम्बन्धमा मात्र सीमित रही मोबाइलमा भएको यी निवेदिकाको अन्य व्यक्तिगत सूचना वा तथ्यांकमा पहुँच नहुने र निवेदिकाको गोपनीयताको हकमा कुनै किसिमको दखल नपुग्ने गरी यस अदालतको सूचना प्रविधि महाशाखाको कम्तिमा अधिकृत स्तरको सूचना प्रविधि विज्ञ, निवेदिका र निवेदिकाले इच्छाएको सूचना प्रविधि विज्ञ एवं निजको कानुन व्यवसायी समेतको रोहवरमा मात्र अनुसन्धान अधिकारीले निवेदिकाको मोबाइलमा पहुँच गर्न सक्ने व्यवस्था मिलाउने,’ रिट निवेदक सुनारको सम्बन्धमा अदालतले जारी गरेको आदेशमा भनिएको छ।

काठमाडौं, बबरमहलकी घरबेटी सरस्वती प्रधानले आफ्नो घरको कोठा भाडामा नदिएपछि रूपाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। 

त्यसपछि पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन मन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त, सिंहदरबार पुगेका थिए। मन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीमा हालेर घरसम्म पुर्याएका थिए।

असार ३१, २०७८ बिहीबार २२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।