राष्ट्रपति भण्डारीद्वारा संघीय संसदका दुवै सदनकाे अधिवेशन आह्वान 

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदका दुवै सदनकाे अधिवेशन आह्वान 

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनकाे अधिवेशन आह्वान गरेकी छन्। 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन्। 

नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा गत सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै साउन ३ गते बेलुका ५ बजेभित्र प्रतिनिधि सभाको बैठक आह्वान गर्न राष्ट्रपति कार्यालय र राष्ट्रपति भण्डारीको नाममा आदेश दिएको थियो। साथै सर्वाेच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशसमेत दिएको थियो। 

प्रतिनिधिसभा पुनःस्थापनाको फैसला आएकै दिन राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी थिइन्। 

गत जेठ ८ गते राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको घोषणा गरेकी थिइन्।

 

असार ३१, २०७८ बिहीबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।