‘विप्लव’ नेतृत्वको माओवादीका नेता वलीलाई थुनामुक्त गर्न सर्वोच्चकाे आदेश
काठमाडौं : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ।
आज (बिहीबार) न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।
वली शहीद गंगालाल राष्ट्रिय मुटु रोग केन्द्रमा उपचाररत छन्।
सर्वोच्चले अस्पताल भर्ना भएको अवस्थामा थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न लगाउनु मानवीय दृष्टिले बेमनासिव देखिएको ठहर गरेको छ।
‘अब निज निवेदक हेमन्तप्रकाश वलीको हकमा पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भए बमोजिम हुने गरी प्रस्तुत मुद्दामा हाल मुद्दा पुर्पक्षको लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नुहोला’ सर्वोच्चको आदेशमा भनिएको छ।
ललितपुर, नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको अभियोगमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत, ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।
त्यसविरुद्ध वलीले उच्च अदालत, पाटनमा निवेदन दिए पनि उच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेको थियो। त्यसविरुद्ध वलीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
असार ३१, २०७८ बिहीबार १९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।