यातायातको भाडा वृद्धि फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

यातायातको भाडा वृद्धि फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

काठमाडौं : पाँच विद्यार्थी संगठनले केपी शर्मा ओली नेतृत्वको सरकारले यातायातमा गरेको भाडा वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

नेपाल विद्यार्थी संगठन, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले बिहीबार विज्ञप्ति जारी गर्दै यातायातमा बढाएको भाडा फिर्ता लिन सरकारसँग माग गरेका हुन्। तत्काल भाडा वृद्धि फिर्ता नगरिए आन्दोलनमा उत्रने विद्यार्थी संगठनले चेतावनी दिएका छन्। 

ओली नेतृत्वको सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो। 

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ। सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ। भाडा वृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं।’

यसै विषयमा भोलि यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेस गर्ने र त्यसपछि आन्दाेलनका थप कार्यक्रम सार्वजनिक गरिने विद्यार्थी संगठनले जनाएका छन्।

यस्तै, विज्ञप्तिमा नेपाल आयल निगमले हिजाे घटाएकाे पेटाेलियम पदा्र्थकाे मूल्य पर्याप्त नभएकाेसमेत उल्लेख छ। 


 

असार ३१, २०७८ बिहीबार १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।