सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल गर्न कांग्रेस पौडेल पक्षको बैठक बस्दै
काठमाडौं : सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताको बैठक बस्दै छ।
पौडेल पक्षका एक नेताका अनुसार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बैठक बोलाइएको छ। उक्त बैठकमा सरकारमा सहभागी हुन पठाउने मन्त्रीको बारेमा छलफल हुने ती नेताले जानकारी दिए।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा हाल कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की छन्। खाँणलाई गृह र कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। यी दुवै देउवा पक्षका हुन्।
मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रबाट दुई जना सहभागी छन्, जसमा पम्फा भुसालले ऊर्जा र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।
देउवाले पहिलो चरणमा पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्।
असार ३१, २०७८ बिहीबार १४:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।