ओलीको स्कर्टिङमा पर्शुराम बस्नेत

ओलीको स्कर्टिङमा पर्शुराम बस्नेत
तस्बिर : कृष्पा श्रेष्ठ।

उनकै संयोजनमा मङ्गलवारै कार्यक्रमको तयारी भएको थियो। लावालस्करसहित बालकोट जाँदा सकारात्मक सन्देश जाने भन्दै उनले ओलीसँग कार्यक्रमका लागि अनुमति मागेका थिए। अनुमति पाएपछि ' परमादेशको प्रधानमन्त्री हैन जनादेशको प्रधानमन्त्री भन्दै मङ्गलवारबाटै प्रचार सुरु भइसकेको थियो।

योजना अनुसार ११ बजे युवा सङ्घको ब्यानर बोकेर सङ्घका कार्यकर्ताहरू बालुवाटारमा भेला भएका थिए। ओलीको गाडी बाहिरिएपछि चारैतिर घेरा हालेर सङ्घका कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरे।

कोही गाडीमा थिए। अधिकांश मोटरसाइकलमा। त्यही गाडीमध्ये एकमा थिए पर्शुराम बस्नेत। विराटनगर क्षेत्रमा गुन्डा भनेर परिचित उनी कुनै समय पत्रकार खिलानाथ ढकाललाई कुटेको केसले विवादमा आएका थिए। सो घटनासँगै उनका अपराधका फेहरिस्तसँगै सुरक्षा निकायका व्यक्तिहरू र एमालेका उच्च तहका नेतृत्वसँगकाे सम्बन्ध सार्वजनिक भयो। 

बस्नेतका फेहरिस्त सार्वजनिक भएपछि त्यो बेला यूथ फोर्सको नेतृत्वमा थिए। उनी खुलेरै पर्शुरामको पक्षमा लागेका थिए। दुवैको राम्रो दोस्ती थियो त्यो बेलामा।

पछि पर्शुराम सम्पत्ति शुद्धीकरणको मुद्दामा परे। ११ करोड स्रोत नखुलेको सम्पत्ति रहेको दाबीसहित मुद्दा चले पनि उनले सफाइ पाएका थिए। 

पछि उनी एमालेको भातृ संस्था युवा सङ्घमा सक्रिय भए। बस्नेत र उनको दोस्ती कसिलै थियो। बिचमा दुवैको सम्बन्धमा खटपट आयो पर्शुराम महेशसँग टाढिएका थिए। जानकार स्रोतका अनुसार दुवैको सम्बन्धमा चिसोपना आउनुमा पार्टीगत भन्दा पनि व्यक्तिगत सम्बन्धले भूमिका खेलेको थियो।

तर बुधवार उनै महेशले आयोजना गरेको ओलीको बालुवाटारदेखि बालकोटसम्मको यात्रामा पर्शुराम देखिए। स्रोतका अनुसार अहिले पनि दुवैको सम्बन्ध सुध्रिएको छैन। तर दुवै एमालेको ओली समूहमै छन्। पर्शुराम युवा सङ्घमा सचिव छन्। अहिले पर्शुराम एमालेको नेपाल खेलकुद महासङ्घको उपाध्यक्षमा छन्। 

महासङ्घले यस अगाडि  ओलीको पक्षमा प्रदर्शन गर्दै आएको थियो। बुधवार उनी महासङ्घको शक्ति प्रदर्शन गर्न ओलीको यात्रामा सहभागी भएका हुन्। 

' दुवैको सम्बन्ध उस्तै छ अहिले पनि। तर गुट एकै हो, दुवैको सम्बन्धबारे जानकार स्रोतले भन्यो' बुधवार युवा सङ्घको तर्फबाट भन्दा पनि खेलकुद महासङ्घबाट सहभागी भएका हुन्।'

ओलीलाई बालकोट पूर्याएपछि महेश उनीसँगै थिए। बाल्कोनीमा सम्मान पत्र दिन समेत भ्याए उनले। तर पर्शुराम भने टाढै थिए ओलीभन्दा। भेलामा यी दुवै टाढा-टाढा नै देखिए।

असार ३०, २०७८ बुधबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।