मन्त्रिपरिषद् निर्णय २४ घण्टा लुकाउने प्रथा भत्कियो, कोरोना खर्च सार्वजनिक गर्ने निर्णय
सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरस नियन्त्रण र उपचारलाई विशेष प्राथमिकतामा राखेर आगामी चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए।
यस अगाडि सरकारले मन्त्रीपरिषद्को बैठकको निर्णय गरेको २४ घण्टासम्म गोप्य राख्ने गरेको थियो। पहिलो मन्त्रीपरिषद्बाटै यो क्रम भत्किएको छ।
बैठकले कोरोना नियन्त्रण र उपचारका लागि सरकारले अहिलेसम्म गरेको खर्च सार्वजनिक गर्ने निर्णय समेत भएको उनले जानकारी दिए। कोभिड १९ का सम्बन्धमा विशेष सल्लाहकार नियुक्त गर्ने, अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिम भत्ता एक हप्ताभित्र उपलब्ध गराउन सुरु गर्ने निर्णय समेत भएको छ।
कोरोना सङ्क्रमणबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि एक महिनाभित्र विशेष प्याकेज ल्याउने निर्णय भएको कार्कीले बताए।
असार २९, २०७८ मंगलबार २२:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।