चार सारथिसहित देउवा बने प्रधानमन्त्री : आफ्नालाई शक्तिशाली मन्त्रालय, गुटको मन बुझाउन कठिन
निर्वाचन गराएर ओलीलाई सत्ता सुम्पिएका देउवा नेकपामा भएको विग्रह र एमालेको किचलोले पुन निर्वाचन गराउने जिम्मेवारीसहित सत्तामा फर्किएका छन्।
साढे तीन वर्ष अगाडि सत्तामा पुग्दा सहयोग गरेको माओवादी केन्द्र नै अहिले उनको सत्ता सहयोगी हो। जनता समाजवादी पार्टी र जनमोर्चाको पनि साथ छ उनलाई यस पटक। एमालेका नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको लडाइसम्म उनलाई साथ दिए पनि अब नेपालको बाटो के हुन्छ यकिन छैन।
मङ्गलवार राष्ट्रपति कार्यालयमा आयोजित सपा समारोहमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै नेपाल पनि सहभागी थिए। जसपाका नेताहरू सहित पूर्व प्रधानमन्त्रीहरू उनलाई बधाई दिन पुग्दा निवर्तमान प्रधानमन्त्री केपी ओली भने गएनन्। साढे तीन वर्ष अगाडि सत्ता हस्तान्तरण गर्दा देउवा भने गएका थिए। दुवैले हात मिलाउँदाको देखिएको दुवैको अनुहारको भावको निकै चर्चा भएको थियो।
पहिलो दिन चार मन्त्री
शपथग्रहणपछि चार जनाले मन्त्रीको पद तथा गोपनीयताको शपथ खाए। दुई जना नेपाली काँग्रेसबाट छन् भने अन्य दुई जना माओवादी केन्द्रका छन्।
देउवाले गृहमन्त्रीको रूपमा आफ्नो समूहका नेता बालकृष्ण खाँडलाई नियुक्त गरे। खाँड लामो समयदेखि देउवा क्याम्पमा छन्। उनी देउवाका मुख्य सहयोगी हुन्। उनी काँग्रेसको मुख्य सचेतक समेत हुन्।
अर्थमन्त्रीका रूपमा चर्चा भएका ज्ञानेन्द्र बहादुर कार्की कानुन मन्त्री भए। उनी पनि देउवा समूहकै नेता हुन्। उनी यस अगाडि अर्थमन्त्री थिए।
काँग्रेसले समावेशिताको वास्तै नगरी दुवै पुरुष मन्त्री नियुक्त गरे पनि धन्न माओवादीले भने पहिलो चरणमै मन्त्री नियुक्त गर्दा महिला छुटाएन। माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री भएका छन्। उनी यस अगाडि गृहमन्त्री भएका थिए। नेतृ पम्फा भुसालले जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएकी छिन्।
समूह व्यवस्थापनमा सकस
२५ जनासम्म मन्त्री नियुक्त गर्न सकिने भए पनि पहिलो दिन गठबन्धनबिचको सङ्ख्या र व्यक्ति चयन हुन नसकेपछि देउवाले सानो मन्त्रीपरिषद्बाट काम सुरु गरे। मुख्य काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबिच कुन दलले कति मन्त्रालय पाउने र कुन-कुन मन्त्रालय पाउने सहमति भएको छैन।
यता आफ्नै पार्टीभित्र समेत सहमति हुन सकेको छैन। देउवाले काँग्रेसभित्रका रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहकालाई पनि मन्त्री बनाउन चाहन्थे। तर दुवै समूहबाट नाम आइसकेको छैन।
देउवा समूहमै मन्त्री बन्ने टन्नै आकाङ्क्षी छन्। पौडेल र सिटौला समूहमा पनि कम छैनन्। मन्त्रीका रूपमा मीनेन्द्र रिजाल लगायतकाको नाम चर्चामा भए पनि उनले मङ्गलवार नियुक्ति पाएनन्।
पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई पुन सोही मन्त्रालयमा दोहोराउन देउवासमक्ष सुझाव पुगे पनि उनी निर्णयमा पुगिसकेका छैनन्। स्वास्थ्यमा जसपाले चासो राखेको स्रोतको दावी छ। यस अगाडि थापा सिटौला समूहमा थिए। अहिले उनी सिटौला समूहमा सक्रिय देखिएका छैनन्। उनी पछिल्लो समय सभापतिको उम्मेदवारीको तयारीमा रहेका शेखर कोइरालासँग निकट देखिन्छन्।
पौडेल समूहकालाई चार जना मन्त्री दिने देउवाको तयारी रहेको स्रोतको दावी छ। सिटौला समूहलाई एक जना मन्त्री दिने देउवाको तयारी छ। सिटौला समूहबाट भिमसेनदास प्रधानको नाम अगाडि छ।
माओवादी केन्द्र र जसपामा पनि मन्त्रीका आकाङ्क्षी कम छैनन्। जसपा भित्र पार्टी विभाजनको जोखिम रहेकाले देउवालाई साथ दिइरहेको उपेन्द्र यादव समूहलाई मन्त्री छान्दा पार्टीमा बहुमत पूर्याउने समीकरणलाई समेत ध्यान दिनुपर्ने बाध्यता छ।
असार २९, २०७८ मंगलबार २१:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।