मन्त्री चयनबारे जसपाले थाल्यो छलफल
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहले नयाँ सरकारमा सहभागी हुने मन्त्री चयन गर्न छलफल थालेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री चयन गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिकाे अनौपचारिक बैठक आज (मंगलबार) ललितपुरमा बसेकाे हो।
बैठकमा नयाँ सरकारमा सहभागी हुने मन्त्री चयनका विषयमा छलफल भएको जसपा अध्यक्ष उप्रेन्द्र यादवले जानकारी दिए। ‘यसबारे हामी गृहकार्य गरिरहेका छौं,’ उनले भने, ‘दुई–तीन दिनमा टुंगो लाग्छ।’
यसअघि जसपाले आजै सरकारमा सहभागी हुने एक जना मन्त्रीको नाम दिने बताइएको थियो।
सर्वाेच्च अदालतले हिजो देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सोही अनुसार देउवा प्रधानमन्त्री नियुक्त भइसकेका छन्। उनले आजै साँझ सपथ लिँदै छन्।
असार २९, २०७८ मंगलबार १८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।