राजनीतिक संयन्त्र मार्फत सरकार चलाउने माओवादीको प्रयास
काठमाडौँ : माओवादी केन्द्रले गठबन्धनमा रहेका दलका उच्च तहका नेताहरूको 'उच्चस्तरीय राजनीतिक संयन्त्र' गठनको प्रयास गरेको छ।
पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुङ्ग्याउन पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टीबाट मन्त्री भएकाहरूलाई नियन्त्रणका लागि अलग्गै संयन्त्र गठन गर्नुपर्नेमा छलफल गरेको हो। उनीहरूले सरकारमा सहभागी हुने दलका उच्च तहका नेताहरू रहेको उच्चस्तरीय संयन्त्र र पार्टीमा अलग्गै संयन्त्र बनाउन जोड दिएका हुन्।
बैठक स्रोतका अनुसार सरकारमा सहभागी भएपछि न्यूनतम नीति तथा कार्यक्रम र साझा प्रतिबद्धता ल्याउन केन्द्रका नेताहरूले पार्टी नेतृत्वलाई दबाब दिएका छन्।
तत्कालीन नेकपामा रहँदा पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालनमा सुझाव दिन पार्टीमा यस्तै संयन्त्र गठन गर्ने प्रयास गरे पनि उनी सफल भएका थिएनन्। सरकार चलाउने दायित्व प्रधानमन्त्रीको भएको र यस्तो संयन्त्रले प्रधानमन्त्रीको काममा अवरोध पुग्ने भन्दै केपी ओलीले अस्वीकार गरेका छन्।
सर्वोच्च अदालतको फैसलाको आधारमा आज माओवादी केन्द्र समेतको समर्थनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन्। देउवाको शैली एकल निर्णय गर्ने भएकाले त्यसमा नियन्त्रणका लागि उच्चस्तरीय संयन्त्रको अभ्यास गर्ने माओवादीको रणनीति छ।
असार २९, २०७८ मंगलबार १६:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।