जाँदाजाँदै ओलीले भने : आफ्नो खेलाडीलाई बल पास दिनुपर्नेमा विपक्षीलाई दिन्छन्

जाँदाजाँदै ओलीले भने : आफ्नो खेलाडीलाई बल पास दिनुपर्नेमा विपक्षीलाई दिन्छन्

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले जाँदाजाँदै राष्ट्रको नाममा सम्बोधन गर्दै इतिहासमै पहिलो पटक अदालतबाट प्रधानमन्त्री हटाउने र बनाउने काम भएको भन्दै' इतिहासले यसको समीक्षा गर्ने' बताए।

उनले सरकार विरुद्ध निरन्तर षड्यन्त्र भएको दाबी गरे पनि कहाँबाट षड्यन्त्र भयो भने भएनन्। उनले भने' म अहिले भन्दिन।'

एमालेका अनुशासनहीन र अराजक २६ जनाले राष्ट्रपतिमा विपक्षीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै उनले भने' आफ्नो खेलाडीलाई बल पास दिनुपर्नेमा विपक्षीलाई दिन्छन्। आफ्नो गोल पोस्टको रक्षा गर्नुपर्नेमा गोल हान्छन्।'

उनले आफ्नै पार्टीकाले आपराधिक काम गरेको दाबी समेत गरे। सरकारले राम्रो काम गर्दागर्दै अलोकप्रिय बनाउन षड्यन्त्र भएको। सरकारले राम्रो काम गर्दागर्दै भ्रम फैलाएर जनतालाई अली अन्योलमा पारेको दाबी गर्दै उनले जनतालाई भ्रममा पर्न नदिने दाबी समेत गरे।

उनले कोरोना सङ्क्रमणको कठिन समयमा पनि सबैलाई खोप दिन सरकारले काम गरेको र खोपहरू आउनेक्रममा रहेको भन्दै भने' अब त्यही खोप लगाएको फोटो राखेर हामीले ल्यायौँ भन्ने होलान्। तर मलाई यस्तो कम्पिटिसन गर्नु छैन।'

उनले अदालतको फैसलाको आलोचना गरे पनि त्यसलाई मानेर अगाडि बढ्ने भन्दै पार्टीका समर्थक  र कार्यकर्तालाई नआत्तिन आग्रह गरे।

'हरेस खाएर हैन उच्च मनोबलका साथ अगाडि बढौँ,' उनले सम्बोधनमा भने' लोकतन्त्रलाई बलियो बनाउन लाग्ने हो।'

उनले आफ्नो नेतृत्वको सरकार ऐतिहासिक सफल सरकार भएको दाबी समेत गरे। उनले भने' बादलले एक छिन छेक्न सक्ला तर सधैँ सूर्यको किरण रोक्न सक्दैन।'

असार २९, २०७८ मंगलबार १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।