ओलीकाे दाबी– सर्वाेच्चको फैसलाले मुलुकको लोकतान्त्रिक प्रणाली र राज्य व्यवस्थामा दीर्घकालीन असर पुर्याउने छ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा गरेको फैसलाले मुलुकको लोकतान्त्रिक प्रणाली र राज्यव्यवस्थामा दीर्घकालीन असर पुर्याउने दाबी गरेका छन्।
सिंहदरवार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यद्यपि, सर्वाेच्चको फैसला पालना गर्ने उनले बताए। ‘संविधानको सर्वाेच्चता र विधिको शासनको पालना गर्ने पार्टीका हिसाबले फैसला पालना गर्ने विषयमा स्पष्ट छु,’ उनले भने।
उनले सर्वाेच्चको फैसलाले राज्यको मुख्य तीन अंग (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका)बीचको सन्तुलन खल्बल्याएको बताए। सर्वाेच्चले हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेशसँगै संसद् विघटन बदर गरेको थियो। त्यससँगै ओलीकाे पद गुमेकाे थियाे।
सर्वाेच्चको परमादेशसँगै देउवा आज प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। उनी आजै साँझ ६ बजे शपथ लिँदै छन्।
असार २९, २०७८ मंगलबार १४:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।