प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त, बेलुकी ६ बजे शपथग्रहण
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको परमादेशपछि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति भण्डारीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
जेठ ७ गते १४९ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्री पदमा दाबी प्रस्तुत गरेका देउवा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त हुने देउवाको दाबी अस्वीकृत गरेकी राष्ट्रपति भण्डारीले आज त्यही दाबी अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेर बेलुकी ६ बजे शपथग्रहण गराउने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीमा नियुक्त देउवाको बेलुकी ६ बजे हुने शपथग्रहणको तयारी थालिएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। प्रधानमन्त्रीमा देउवा नियुक्त भइसक्नु भएको हो?भन्ने प्रश्नमा स्वकीय सचिव अधिकारीले नियुक्ति, शपथग्रहण सबै बेलुकी ६ हुने बताए।
सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यालय र राष्ट्रपति भण्डारीका नाममा परमादेश जारी गरेको थियो।
प्रधानमन्त्रीमा नियुक्त देउवाले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत पाउन नसके देउवा नेतृत्वको देश चुनावमा जानेछ।
असार २९, २०७८ मंगलबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।