देशवासीका नाममा सम्बोधन गरेर बाहिरिँदै ओली, स्थायी कमिटी बैठक स्थगित

देशवासीका नाममा सम्बोधन गरेर बाहिरिँदै ओली, स्थायी कमिटी बैठक स्थगित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

बालुवाटारबाटै सरकार र पार्टी चलाइरहेका कामचलाउ प्रधानमन्त्री ओली सरकारबाट बाहिरिने दिन भने सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन्। सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रेस सल्लाहकार थापाले बताए। 

प्रधानमन्त्रीले देशवासीमा नाममा गर्ने सम्बोधनको तयारीका लागि बालुवाटारमा बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक भने स्थगित भएको छ।

सम्बोधनका लागि समय चाहिएकाले स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले बैठक सम्भवतः भोलि बस्ने बताए। 

देशवासीका नाममा सम्बोधन गरेर ओली आजै निजी निवास बालकोट जाने भएका छन्। प्रधानमन्त्री नियुक्त हुने बित्तिकै बालुवाटारबाट बाहिरिने तामाङले बताए। ‘प्रधानमन्त्री नियुक्ति भएपछि एक मिनेट पनि बसिँदैन’तामाङले भने। 

असार २९, २०७८ मंगलबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।